कालीकोट भाद्र २५ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (भदौ २५ गते, बिहीबार) का लागि तीन दिने मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न भागमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना दर्शाइएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा समेत वर्षाको प्रक्षेपण गरिएको छ।
विशेष सतर्कता गराउँदै महाशाखाले आज दिउँसो देशको पहाडी भू-भाग तथा मधेश प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ।
यसैगरी, आज राति कोशी र बागमती प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको स्थिति कायमै रहनेछ।
निरन्तरको वर्षाका कारण पहाडी राजमार्गहरूमा पहिरो जाने र नदीनालामा जलस्तर बढ्ने जोखिम रहेकाले कर्णाली राजमार्गसहित भिरालो जमिन र नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।