कालीकोट भाद्र २७ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण पुगेको क्षतिको खोज, उद्धार तथा व्यवस्थापनसम्बन्धी नेपाल प्रहरीले पछिल्लो अद्यावधिक विवरण (भदौ २७ गते बिहान ८:०० बजेसम्मको) सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म कुल १,३८६ वटा शव तथा आंशिक अङ्ग फेला परेका छन्। जसमा ५४२ पुरुष, ३३८ महिला र ५१० वटा आंशिक मानव अङ्ग रहेका छन्। फेला परेका शवहरूमध्ये १,२१३ वटा शवलाई जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ भने १०३ वटा शव परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ।
यसैगरी बाढीका कारण हालसम्म ४,०८९ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा स्वदेशी ३,४७९ जना (२,९०७ पुरुष र ५७२ महिला) र विदेशी ६१० जना (२७२ पुरुष, ३२८ महिला र १० अन्य) रहेका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म ९,२८७ जनाको घाइते तथा सकुशल उद्धार गरिएको छ, जसमा ६,४०७ पुरुष, २,८३० महिला र ५० जना पहिचान नखुलेका व्यक्तिहरू रहेका छन्। हाल होल्डिङ्ग सेन्टरमा २,७११ जना आश्रित रहेका छन्।
पहिचान नभएका मृतकहरूको पहिचानका लागि डिएनए (DNA) संकलन कार्यलाई समेत तीव्रता दिइएको छ। हालसम्म मृतकका १,२८६ र बेपत्ताका आफन्तहरूबाट १,७७९ गरी कुल ३,०६५ वटा डिएनए नमुना संकलन गरिएको छ। साथै, पहिचान हुन नसकेका १,३३४ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।
विपद व्यवस्थापन तथा उद्धारका लागि घटनास्थलमा ७,९७५ जना नेपाल प्रहरीका सुरक्षाकर्मीहरू प्रत्यक्ष रूपमा परिचालित छन्। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारीहरू स्वयं प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्। प्रहरीले प्रभावित क्षेत्रमा १७८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४६,८०४ जना नागरिकलाई सचेत गराएको छ।