काठमाडौं भाद्र २८ गते । गत भदौ १० गते भोटेकोशी-त्रिशूली-नारायणी नदी प्रणालीमा भीषण बाढी आएको थियो। यो बाढी वर्षाका कारण आएको थिएन। नेपाल-चीन सीमा नजिकै हिउँ र चट्टानको ठूलो हिमपहिरो खसेको थियो। सोही पहिरोले नदी थपिएर लेदोसहितको बाढी आएको प्रतिवेदनले देखाएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा यो तथ्य उल्लेख छ।
रसुवाको लाङटाङ-लिरुङ हिमालको उत्तरी भेगबाट करिब २ वर्गकिलोमिटर क्षेत्रको हिउँ र चट्टान खसेको थियो। यो हिमपहिरो करिब ५,२०० मिटर उचाइबाट तल्लो भागमा खसेको हो। पहिरो खस्दा ठूलो कम्पन उत्पन्न भएको थियो। उक्त कम्पनलाई भूगर्भ सर्वेक्षणले ५.२ म्याग्निच्युडको भूकम्पीय तरङ्गका रूपमा रेकर्ड गरेको थियो। बाढी आएको क्षेत्रमा पानी भने परेको थिएन।
यो बाढी अत्यन्त तीव्र गतिको थियो। सीमा क्षेत्रमा बाढीको गति प्रतिघन्टा करिब १८८ किलोमिटर थियो। स्रोतबाट रसुवागढीसम्मको २० किलोमिटर दूरी पार गर्न बाढीलाई ७ देखि ८ मिनेट मात्र लाग्यो। रसुवागढीबाट देवघाटसम्मको २०१ किलोमिटर दूरी बाढीले पौने ७ घण्टामा तय गरेको थियो।
बाढीको खबर पाउने बित्तिकै जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आपत्कालीन प्रणाली सुरु गर्यो। तटीय क्षेत्रमा बाढी पुग्नु अगावै ६ लाख ७८ हजारभन्दा बढी नागरिकलाई एसएमएस (SMS) सन्देश पठाइयो। रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका जोखिमयुक्त क्षेत्रमा सूचना पठाइएको थियो।
घटनापछि ल्हेन्दे खोलाको माथिल्लो भागमा दुईवटा अस्थायी प्राकृतिक ताल बनेका छन्। पहिलो ताल १६०,००० वर्गमिटर र दोस्रो ताल १८०,००० वर्गमिटर क्षेत्रफलका छन्। यी तालहरूबाट अहिले पानी बग्न थालेको छ। त्यसैले तत्कालको जोखिम घटेको छ। तर प्राकृतिक बाँध फुटेमा फेरि बाढी आउन सक्ने जोखिम भने कायमै छ।
जलमापन केन्द्रहरू बगेपछि नयाँ प्रविधि प्रयोग गरिएको छ। नेपालमै पहिलोपटक टिमुरेमा सीसीटीभी क्यामेरा जडान गरी बाढीको प्रत्यक्ष निगरानी सुरु गरिएको छ। यो क्यामेरा नदीभन्दा ७० मिटर माथि राखिएको छ। यसको प्रत्यक्ष दृश्य २४ सै घण्टा बाढी पूर्वानुमान महाशाखामा हेर्न सकिन्छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमपहिरोको जोखिम बढेको छ। परम्परागत वर्षा मापन प्रणाली यस्ता आकस्मिक बाढीका लागि अपर्याप्त हुन्छन्। त्यसैले हिमाली नदीहरूमा सीसीटीभी र स्याटेलाइट निगरानी बढाउनुपर्ने देखिन्छ। माथिल्लो क्षेत्रमा बनेका तालहरूको नियमित अनुगमन र पूर्वतयारीलाई निरन्तरता दिनु आवश्यक छ।