कालीकोट भाद्र २४ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (भदौ २४ गते, बुधबार) का लागि तीन दिने मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै देशभरको मौसम सम्बन्धी विवरण सार्वजनिक गरेको छ।
महाशाखाका अनुसार आज दिउँसो र राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना दर्शाइएको छ।
यसैगरी, आज दिउँसो मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै बागमती प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै मधेश, कोशी र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
निरन्तरको वर्षाका कारण भिरालो जमिन, पहाडी सडकखण्ड तथा नदी तटीय क्षेत्रमा पहिरो र डुबानको जोखिम रहेकाले सर्वसाधारण तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।