कालीकोट १९ भाद्र । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकास्थित शान्तिघाट खोलामा बिहीबार राति आएको बाढी घटेपछि सुरक्षित स्थानमा सारिएका स्थानीय बासिन्दाहरू आ-आफ्नो घर फर्किएका छन्। रातिको समयमा ठूलो वर्षा भई खोलाको बहाव बढेपछि सतर्कता अपनाउँदै स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको थियो।
गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीका अनुसार बाढीका कारण ठूलो मानवीय वा भौतिक क्षति नभए पनि खोला किनारका केही खेत सिँचाइ गर्ने कुलोमा क्षति पुगेको छ। बिहीबार साँझ मुम्रा क्षेत्रमा पहिरो खसेर खोला केही बेर थुनिएको खबर फैलिएपछि त्रास सिर्जना भए पनि अहिले खोला साविककै अवस्थामा फर्किइसकेको छ।
यसैबीच, कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बाढी र पहिरोको त्रासका कारण रातभर विभिन्न सञ्चार माध्यमहरूबाट जिज्ञासा र टेलिफोन आएको जानकारी दिँदै सुरक्षा निकाय र प्रहरी स्रोतको विवरणअनुसार खोलामा सामान्य बहाव मात्र बढेको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार घटनाबाट कुनै मानवीय जोखिम वा ठूलो क्षतिको अवस्था नरहेको र स्थिति पूर्ण रूपमा सामान्य रहेको छ।