Loading

कृत्रिम खुट्टा पाएपछि बदलिएको असाडीको दुनियाँ: १ लाख ४८ हजार बढी सहयोग सङ्कलन

कृत्रिम खुट्टा पाएपछि बदलिएको असाडीको दुनियाँ: १ लाख ४८ हजार बढी सहयोग सङ्कलन

कालीकोट ४ भाद्र। सरस्वती माध्यमिक विद्यालय थिर्पुमा अध्ययनरत पलाँता गाउँपालिका वडा नं. ३ निवासी असाडी रोकायाको उपचार तथा कृत्रिम खुट्टा व्यवस्थापनका लागि सञ्चालित सहयोग अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

सामाजिक सञ्जालको ‘शिक्षा’ पेजबाट सुरु भएको यस अभियानमा नेपाल सरकारका पूर्वसचिव तथा समाजसेवी भीमप्रसाद उपाध्यायले सहयोगको अपिल गरेपछि देश-विदेशबाट सहयोगी हातहरू जुटेका थिए। उपाध्यायको पहलमा समाजसेवी जयराम थापासहितका दाताहरू जोडिएपछि असाडीको उपचार र काठमाडौँसम्मको यात्रा सहज बनेको अभियानकर्ता तथा फोटो पत्रकार पूर्णसिंह बम ‘अनुराग’ ले जानकारी दिएका छन्।

असाडीलाई कालीकोटको घाटाचौरदेखि सुर्खेत हुँदै काठमाडौँसम्म पुर्‍याउन र बसोबास व्यवस्थापन गर्न स्थानीय राजेन्द्र रोकाया क्षेत्री, कमल रोकाया, स्वर्णिम शाही, कलाकार इब्सल सञ्ज्याल तथा HRDC का प्रमुख होमराज केसी लगायतले प्रत्यक्ष सहयोग पुर्‍याएका थिए।

अभियानका क्रममा देश-विदेशका दाताहरूबाट कुल १ लाख ४८ हजार २४४ रुपैयाँ सहयोग रकम सङ्कलन भएको थियो। जसमा काठमाडौँ आउने-जाने हवाई भाडा, होटेल तथा खाना खर्च, यातायात, १५ हजार ९ सय रुपैयाँको नयाँ मोबाइल, ७ हजार ५ सय रुपैयाँको कृत्रिम खुट्टाभित्र लाग्ने सामान, नयाँ लुगाकपडा, जुत्ता तथा शैक्षिक सामग्री खरिद गर्दा कुल १ लाख २६ हजार ६९० रुपैयाँ खर्च भएको बमले जानकारी दिए।

खर्च कटाएर बाँकी रहेको २१ हजार ५५४ रुपैयाँ असाडी रोकायाको अपाङ्गता भत्ता आउने बैंक खातामा दुई दिनभित्रै जम्मा गरिने अभियानकर्ता बमले बताए। साथै, आगामी दिनमा असाडीलाई कक्षा ११ र १२ मा छात्रवृत्ति (Scholarship) मा पढाउनका लागि थप पहल गरिनेसमेत प्रतिबद्धता जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार