कालीकाेट २ भाद्र। कालीकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। तिला पावर कम्पनीद्वारा प्रवर्द्धित उक्त आयोजनाका लागि एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो।
आयोजनाको कुल अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपूँजी (इक्विटी) बाट व्यवस्थापन गरिनेछ। सहअगुवा बैंकका रूपमा सानिमा बैंक रहेको छ भने को-लिड बैंकहरूमा प्राइम कमर्सियल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंक रहेका छन्। त्यसैगरी सहभागी बैंकहरूमा सिद्धार्थ, नबिल, नेपाल इन्फ्रास्ट्रक्चर, कृषि विकास, मुक्तिनाथ विकास र कामना सेवा विकास बैंक रहेका छन्।
तिलागुफा नगरपालिकामा बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत् गृह रहने यो आयोजना दैनिक ६ घण्टा पिकिङ क्षमता भएको अर्धजलाशययुक्त (PROR) प्रकृतिको हुनेछ। कम्पनीका अनुसार मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसए लगायतका संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याइएको छ।
निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले विद्युत् विकास विभागबाट २०७५ भदौ ७ गते उत्पादन अनुमति पाएको थियो भने नेपाल विद्युत् प्राधिकरणसँग २०८१ कात्तिक ७ गते विद्युत् खरिद बिक्री सम्झौता (PPA) गरिसकेको छ। आयोजना सञ्चालनमा आएपछि वार्षिक कुल २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ, जसले सुक्खायामको उच्च माग व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।