मान्म (कालीकोट), २९ साउन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले कम्पनीको ७औँ वार्षिकोत्सवको अवसरमा सहुलियत (छुट) मूल्यमा खाद्यान्न बिक्री वितरण सुरु गरेको छ। कम्पनीको प्रधान कार्यालयको निर्देशन अनुसार मिति २०८३ साउन २८ गतेदेखि लागू हुने गरी साविकको मूल्यमा प्रति किलो तथा प्रति लिटर रु. ५ छुट दिएर खाद्यान्न बिक्री खुला गरिएको हो।
कम्पनीका अनुसार विभिन्न किसिमका चामल, चिनी तथा सूर्यमुखी तेलमा छुट उपलब्ध गराइएको छ। सहुलियत मूल्य कायम भएपछि २५ केजीको अरुवा मोटा चामल रु. १,४००, अरुवा सोना मन्सुली रु. १,४२५, अरुवा मध्यम चामल रु. १,४५० र स्टिम जिरा मसिनो चामल रु. २,१७५ मा उपलब्ध गराइएको छ।
त्यस्तै, ५० केजीको बोरा चिनी साविकको रु. १०५ प्रति किलोबाट रु. ५ छुट भई रु. १०० प्रति किलोका दरले जम्मा रु. ५,००० मा बिक्री भइरहेको छ भने १ पेटी सूर्यमुखी तेल साविकको रु. २९५ प्रति लिटरबाट रु. ५ छुट भई रु. २९० प्रति लिटरका दरले जम्मा रु. २,९०० मा बिक्री भइरहेको छ।
यता बजारमा भने चिनी ५० केजीको बोरा रु. ६,००० र सूर्यमुखी तेल १ पेटीको रु. २,९०० मा बिक्री भइरहेको स्थानीय व्यापारी ज्ञानेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ।
कम्पनीले गुणस्तरीय तथा सूक्ष्म पौष्टिक तत्व स्तरोन्नति गरिएको खाद्यान्न न्यून मूल्यमा उपलब्ध गराइएकाले यसको भरपूर लाभ लिन समस्त सेवाग्राही तथा सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।
