Loading

पहाडका ९ जिल्लामा सिडिओको दरबन्दी कटौती: अब सहसचिवको सट्टा उपसचिव खटाइने

पहाडका ९ जिल्लामा सिडिओको दरबन्दी कटौती: अब सहसचिवको सट्टा उपसचिव खटाइने

काठमाडौँ, २७ साउन । गृह मन्त्रालयले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) स्वीकृत गर्दै पहाडका ९ जिल्लामा सहसचिव तहका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को दरबन्दी कटौती गरेको छ। अब ती जिल्लाहरूमा उपसचिव तहका अधिकारीलाई प्रजिअका रूपमा खटाइनेछ।

दरबन्दी घटाइएका जिल्लाहरूमा बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ रहेका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार जिल्लाको जनसंख्या, कामको चाप र शान्ति सुरक्षाको चुनौतीलाई विश्लेषण गरेर दरबन्दी हेरफेर गरिएको हो। यसअघि ६१ जिल्लामा सहसचिव सिडिओ रहने व्यवस्था भएकोमा अब ५२ जिल्लामा मात्र रहनेछन्।

लागु औषध नियन्त्रण विभाग स्थापना मन्त्रालय मातहत रहने गरी सहसचिवको नेतृत्वमा नयाँ ‘लागु औषध नियन्त्रण विभाग’ स्थापना गरिएको छ। यस्तै, कामको चाप कम रहेका विभुषण, शान्ति प्रवर्द्धन र लागु औषध शाखाहरू खारेज गरी तिनको जिम्मेवारी अन्य शाखामा सारिएको छ।

अध्यागमन, कारागार र इलाका प्रशासनमा समायोजन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका दुई-दुई वटा अध्यागमन कार्यालयलाई गाभेर एक-एक वटा बनाइएको छ। उता स्याङ्जाको वालिङ र महोत्तरीको बर्दिबास इलाका प्रशासन कार्यालय तथा झापा, मोरङ, कास्की र बाँकेका कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। साथै, वन मन्त्रालय मातहत लगिएको समरजंग कम्पनी पुनः गृह मन्त्रालयमै गाभिएको छ।

सरकारले मन्त्रालयको संख्या २१ बाट घटाएर १८ मा झारेपछि गरिएको ओएन्डएम अनुसार मन्त्रालय मातहत कुल २६७ कार्यालय र ४ हजार ६११ कर्मचारी कायम भएका छन्। स्वीकृत नयाँ संगठन तथा दरबन्दी संरचना दर्ताका लागि राष्ट्रिय किताबखानामा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार