Loading

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल, भौतिक मन्त्रालयलाई पत्र

ज्येष्ठ नागरिकको ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल, भौतिक मन्त्रालयलाई पत्र

काठमाडौँ  २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको निर्देशनमा मन्त्रालयले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५० प्रतिशत भाडा छुट तथा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन पहल अघि बढाएको छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्ने र यातायात भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने स्पष्ट व्यवस्था छ। तर, कानुनी प्रावधान हुँदाहुँदै पनि अधिकांश ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा यो सुविधा नपाएको व्यापक गुनासो मन्त्रालयमा प्राप्त भएपछि मन्त्री बादीको निर्देशनमा यो प्रक्रिया अघि बढाइएको हो।

ज्येष्ठ नागरिकले कानुनबमोजिम प्राप्त गर्नुपर्ने छुट तथा सुविधा अनिवार्य र प्रभावकारी रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक सहयोग र सहजीकरणका लागि अनुरोध गरेको छ।

कानुनमा भएका सुविधा कागजी रूपमा मात्र सीमित नराखी व्यवहारमै सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ। यस पहलसँगै सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकले आफ्नो संवैधानिक र कानुनी अधिकार सहज रूपमा उपभोग गर्न पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार