सुर्खेत, २१ कार्तिक। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले पदभार ग्रहण गरेको एक सय दिन पूरा भएको अवसरमा प्रदेश सरकारले हासिल गरेका प्रमुख उपलब्धिहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ। सरकारले कानुन निर्माण, प्रशासनिक सुधार, विपद् व्यवस्थापन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा केन्द्रित रहेर महत्त्वपूर्ण प्रगति हासिल गरेको जनाएको छ।
सरकारले १०० दिनको अवधिमा योगदानमूलक निवृत्तभरण कोष, सामयिक राजस्व, खानेपानी तथा सरसफाइ, स्याउ विकास बोर्ड र दलित सशक्तीकरण संशोधनसहित ५ वटा विधेयक प्रदेश सभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृति दिएको छ। यसका साथै लोककल्याणकारी विज्ञापन, घर बीमा, राइड सेयरिङ तथा सेल्फ ड्राइभ, र शिक्षा क्षेत्र योजना (२०८३–२०९२) लगायत ६ वटा कार्यविधि र निर्देशिकाहरू स्वीकृत गरिएका छन्। प्रशासनिक चुस्तताका लागि नतिजामुखी कार्यसम्पादन सम्झौता, एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) लागू गरिएको छ भने यातायात व्यवस्था कार्यालय सुर्खेतमार्फत प्रविधिमा आधारित एकल बिन्दु सेवा प्रवाह थालिएको छ। वित्तीयतर्फ असोज मसान्तसम्म कुल बजेटको ७.२० प्रतिशत बजेट खर्च र २४ करोड २७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
विपद् व्यवस्थापनतर्फ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा २ करोड रुपैयाँ सहयोग उपलब्ध गराइएको छ भने शव ढुवानी तथा काजकिरियाका लागि कर्णालीका १० वटै जिल्लालाई प्रतिजिल्ला १५ लाख र राहत सामग्री खरिदका लागि प्रतिजिल्ला २० लाख रुपैयाँ निकासा गरिएको छ। भौतिक पूर्वाधारमा जाजरकोटको बारेकोट र पश्चिम रुकुमको बाँफिकोट जोड्ने २ वटा पक्की पुल तथा १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् भने सुर्खेत, जुम्ला, हुम्ला र जाजरकोटका रणनीतिक सडकहरूका लागि विश्व बैंकबाट कार्यसहमति (NOL) प्राप्त भएको छ। साथै दशौँ राष्ट्रिय खेलकुदका लागि सुर्खेत रंगशाला निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रिया अघि बढेको, जिल्ला तथा प्रदेशस्तरीय खेलाडी छनोट सकिएको र दैलेखमा ५ शय्याको डायलासिस सेवा सञ्चालन अनुमति दिइएको सरकारले स्पष्ट पारेको छ।