Loading

हँसिया प्रहारबाट ३ महिने बालिकासहित एकै परिवारका ५ जना गम्भीर घाइते, आक्रमणकारी नियन्त्रणमा

हँसिया प्रहारबाट ३ महिने बालिकासहित एकै परिवारका ५ जना गम्भीर घाइते, आक्रमणकारी नियन्त्रणमा

दैलेख, २२ कार्तिक । दैलेखको ठाटीकाँध गाउँपालिका–४, धनकोटमा एक व्यक्तिले छिमेकीको घरमै पुगेर घरेलु हतियार (हँसिया) प्रहार गर्दा ३ महिने बालिकासहित एकै परिवारका ५ जना गम्भीर घाइते भएका छन्। शनिबार साँझ करिब ५:०० बजे स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध हँसिया प्रहार गरेका हुन्।

आक्रमणबाट चन्द्रबहादुर पुनकी ४५ वर्षीया श्रीमती बिमा मगरको टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने उनको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। त्यस्तै चन्द्रबहादुरकी २५ वर्षीया भाइबुहारी महेसरा पुनको दुवै हातका हत्केला नै छिनेको छ। आक्रमणमा परी चन्द्रबहादुरकी २० वर्षीया छोरी लक्ष्मी पुन, अर्की २३ वर्षीया छोरी तिला पुन मगर र तिलाकी ३ महिनाकी दूधे बालिका जानकी रोक्का मगर समेत घाइते भएका छन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी ठाटीकाँधबाट प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको कमान्डमा खटिएको टोलीले आक्रमणमा संलग्न बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ। घाइते पाँचै जनालाई उद्धार गरी राति १०:१० बजे ठाटीकाँध गाउँपालिका–१ स्थित लकान्द्र स्वास्थ्य चौकी पुर्‍याइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने पहल भइरहेको छ। घटनाको गम्भीरतालाई ध्यानमा राखी इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमान्डमा थप अनुसन्धान टोली घटनास्थलतर्फ खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार