Loading

लक्ष्मीपूजाको रात प्राधिकरणको डबल सफलता : १८१३ मेगावाट माग हुँदा पनि देश झलमल्ल, भारततर्फ ५८७ मेगावाट बिजुली

लक्ष्मीपूजाको रात प्राधिकरणको डबल सफलता : १८१३ मेगावाट माग हुँदा पनि देश झलमल्ल, भारततर्फ ५८७ मेगावाट बिजुली

काठमाडौँ, २२ कार्तिक । प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा पुगेको ठूलो क्षतिका बीच यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले ऐतिहासिक सफलता हात पारेको छ। उज्यालोको पर्व लक्ष्मीपूजाको साँझ देशभर बिजुलीको उच्च माग १८१३ मेगावाट पुग्दा पनि कहीँकतै लोडसेडिङ हुन नदिई माग र आपूर्तिबीच चुस्त सन्तुलन कायम गरिएको हो।

आन्तरिक माग सहज रूपमा धान्नुका साथै प्राधिकरणले बचत भएको ५८७ मेगावाट बिजुली सोही साँझ भारततर्फ निर्यातसमेत गरेको छ। बाढी–पहिरोले प्रणालीमा गम्भीर क्षति पुर्‍याएको प्रतिकूल अवस्थामा पनि विद्युत् व्यवस्थापन सफल भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले खुसी व्यक्त गर्दै यसलाई सामूहिक मिहिनेतको परिणाम बताएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्पछिको जटिल मोडमा पनि मुलुकभर निर्वाध उज्यालो कायम राख्न सक्नु ऊर्जा क्षेत्रको ठूलो परीक्षा उत्तीर्ण भएको प्रतिक्रिया दिनुभयो। मन्त्री श्रेष्ठले भन्नुभयो, “बाढी–पहिरोले प्रसारण प्रणाली तहसनहस बनाएको बेला उपभोक्तालाई अँध्यारोमा बस्न नदिनु हाम्रो मुख्य दायित्व थियो। सबैको समन्वय, कुशल नीति र फिल्डको कडा मिहिनेतले देश झलमल्ल बनाउँदै भारतमा समेत बिजुली निर्यात गर्न सफल भएका छौँ, यो सम्पूर्ण देशवासीका लागि गर्वको क्षण हो।”

यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाको भार व्यवस्थापन चुनौतीपूर्ण भए पनि पूर्वतयारी र प्राविधिकहरूको निरन्तर खटाइले लक्ष्य हासिल भएको बताउनुभयो। कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “आजको दिन विद्युत् प्रणाली जोगाउनु हाम्रा लागि अग्निपरीक्षा जस्तै थियो। १८१३ मेगावाटको उच्च माग धान्दै ५८७ मेगावाट बिजुली निर्यात हुनु प्राधिकरणका अहोरात्र खटिने प्राविधिक, कर्मचारी, व्यवस्थापन र मितव्ययी प्रयोग गरिदिने आम उपभोक्ताको साझा प्रयासको प्रतिफल हो। उज्यालो केवल बिजुलीको आपूर्ति मात्र होइन, हाम्रो सामूहिक संकल्प र सफलताको प्रतीक पनि हो।” आगामी दिनमा पनि प्रणालीलाई थप भरपर्दो र सुरक्षित बनाउन प्राधिकरण निरन्तर लागिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार