Loading

लत्रिएको तार ट्याक्टरले चुँडाल्दा मान्म बजारमा टेलिकमको फाइबर सेवा ठप्प

लत्रिएको तार ट्याक्टरले चुँडाल्दा मान्म बजारमा टेलिकमको फाइबर सेवा ठप्प

कालीकोट, २२ कार्तिक । सडकमा लामो समयदेखि लत्रिएर जोखिमपूर्ण अवस्थामा रहेको नेपाल टेलिकमको अप्टिकल फाइबर केबल ट्याक्टरले चुँडाइदिँदा सदरमुकाम मान्म बजार क्षेत्रका तीन सयभन्दा बढी इन्टरनेट सेवाग्राही समस्यामा परेका छन्। आइतबार बिहान मान्म बजारको जिरोपोइन्टबाट मुख्य बजार प्रवेश गर्ने सडकखण्डमा लत्रिएको केबलमा ट्याक्टर अल्झिन पुग्दा मुख्य फाइबर लाइन चुँडिएको हो।

सडकमा झुन्डिएको फाइबर लाइन निकै तल झरेकाले जुनसुकै बेला सवारीसाधनमा अल्झिएर चुँडिन सक्ने भन्दै स्थानीय बासिन्दाले नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक जानकारी गराएका थिए। तर, सरोकारवाला निकायले समयमै मर्मत तथा व्यवस्थापनमा चरम लापरबाही गर्दा अन्ततः सेवा नै अवरुद्ध हुन पुगेको स्थानीयको गुनासो छ। तार चुँडिएसँगै मुख्य बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र व्यक्तिगत प्रयोगकर्ताहरूको इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएको छ।

फाइबर लाइन चुँडिएपछि सेवा अवरुद्ध भएको स्वीकार गर्दै नेपाल टेलिकम कालीकोट शाखाका कार्यालय प्रमुख प्रेमबहादुर विष्टले विभिन्न क्षेत्रबाट गुनासाका फोनहरू आइरहेको र मर्मतका लागि प्राविधिक जनशक्तिको खोजी भइरहेको बताउनुभयो। यद्यपि, तिहार बिदाका कारण प्राविधिक कर्मचारीहरू बिदामा रहेकाले सेवा नियमित गर्न केही समय लाग्ने उहाँको भनाइ छ। यता तिहार बिदाको समयमा घर तथा कोठामा रहेका उपभोक्ताहरूले भने प्रशासनिक ढिलासुस्ती नगरी तत्काल प्राविधिक खटाएर सेवा सुचारु गर्न जोडदार माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार