सुर्खेत, २१ कार्तिक । कर्णाली प्रदेशको समग्र सम्भावना र अवसरहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न र स्थानीय सञ्चारमाध्यमका चुनौतीहरूको समाधान पहिल्याउन आगामी माघ महिनामा ‘कर्णाली मिडिया सम्मेलन–२०८३’ आयोजना गरिने भएको छ। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले आयोजना गर्न लागेको यस बृहत् सम्मेलनमा प्रदेश सरकारको अभिभावकत्व र दरिलो साझेदारीका लागि मुख्यमन्त्री मङ्गल बहादुर शाहीसमक्ष औपचारिक आग्रह गरिएको छ।
महासंघका प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माको नेतृत्वमा गएको पदाधिकारी टोलीले मुख्यमन्त्री शाहीसँग भेटघाट गरी सम्मेलन सफल बनाउन सरकारको पूर्ण साथ रहने वातावरण बनाउन प्रस्ताव पेस गरेको हो। कर्णालीको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिकाको समीक्षा गर्दै सरकारले लिएका लक्ष्य हासिल गर्न नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

भेटघाटका क्रममा सम्मेलनको तयारीसँगै प्रदेशमा अधिकारसम्पन्न आमसञ्चार प्रतिष्ठान गठन गर्नुपर्ने, स्थानीय मिडियालाई वर्षभरि नै लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने र विगत ७ वर्षदेखि चल्दै आएको ‘कर्णाली पत्रकार कल्याण अक्षय कोष’ को कटौती भएको बजेट तत्काल पुनर्स्थापित गर्नुपर्ने माग पनि जोडदार रूपमा उठाइएको छ। महासंघको टोलीमा उपाध्यक्ष लक्ष्मण के.सी., महासचिव खगेन्द्र भट्टराई, सचिव अशोक राजी र कोषाध्यक्ष ईश्वरराज अधिकारी सहभागी हुनुहुन्थ्यो।