Loading

दलित विकास प्राधिकरण गठन गर्ने तयारी : सुर्खेतमा नयाँ विधेयकको मस्यौदामाथि मन्थन

दलित विकास प्राधिकरण गठन गर्ने तयारी : सुर्खेतमा नयाँ विधेयकको मस्यौदामाथि मन्थन

सुर्खेत, २१ कार्तिक। संविधानप्रदत्त मौलिक हकको पूर्ण प्रत्याभूति गराउन र दलित समुदायको चौतर्फी सशक्तीकरणका लागि अधिकारसम्पन्न ‘दलित विकास प्राधिकरण’ गठन गर्ने तयारी अघि बढेको छ। शुक्रबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र दलित महिला संघ (फेडो) को समन्वयमा वीरेन्द्रनगरमा ‘दलितको अधिकार तथा विकाससम्बन्धी विधेयक, २०८३’ को मस्यौदामाथि बृहत् छलफल सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता गर्दै महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले नेपालको संविधानको धारा ४० ले दलित समुदायको हक सुनिश्चित गरे तापनि त्यसलाई व्यवहारमा उतार्न छुट्टै र स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित मस्यौदामा दलित विकास प्राधिकरणको गठनसँगै राज्यका सबै तहमा दलित समुदायको सार्थक प्रतिनिधित्व वृद्धि, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा तथा पुस्तौँदेखि चल्दै आएको परम्परागत पेसा र सीपको संरक्षण एवं आधुनिकीकरणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ।

अन्तरक्रियामा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसहित अधिकारकर्मी, नागरिक समाज र सरोकारवालाहरूले विधेयकलाई अझ बढी व्यावहारिक र प्रभावकारी बनाउन आफ्ना महत्त्वपूर्ण राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो। सरोकारवालाहरूले उठाएका जायज विषयहरूलाई समेटेर मस्यौदालाई परिमार्जन गर्दै यथाशीघ्र संसद्‌मा पेस गर्ने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार