काठमाडौँ , २१ कार्तिक। प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूले दशैँयता सम्पादन गरेका मुख्य–मुख्य कार्यप्रगति विवरण सार्वजनिक भएको छ। शुक्रबार मुलुकको आन्तरिक सुरक्षा, कूटनीतिक संवाद, ठूला पूर्वाधारमा लगानी, डिजिटल सुशासन तथा प्रशासनिक चुस्ततामा केन्द्रित भएर उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूबाट मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे प्रत्यक्ष ब्रिफिङ लिँदै सुरक्षा निकायबीच प्रभावकारी समन्वय, द्रुत सूचना आदानप्रदान र अपराध नियन्त्रणमा कडा भएर लाग्न निर्देशन दिनुभएको छ। कूटनीतिकतर्फ भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउनुभएको छ। प्रशासनिक सुधारतर्फ मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकले बेरुजु फर्छ्यौट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्रवर्द्धन, सरकारी निर्णय प्रक्रिया सरलीकरण र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरेको छ।
ठूला जलविद्युत आयोजनाको क्षेत्रमा लगानी बोर्डमार्फत अरुण–३ को भौतिक प्रगति ७७ प्रतिशत नाघेको छ भने माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन प्रक्रिया तीव्र पारिएको छ। यसका साथै नार खोला, सानी भेरी–३ र बेतन कर्णालीको लगानी स्वीकृत गर्दै लगानी बोर्डले एकल विन्दु सेवा केन्द्र, गुनासो डेस्क र स्विस च्यालेन्ज निर्देशिकाको मस्यौदा अघि बढाएको छ। साइबर सुरक्षा तथा डिजिटल शासनलाई सुदृढ गर्न सरकारी वेबसाइटहरूमा अनिवार्य सुरक्षा प्रमाणपत्र (SSL/TLS) लागू गर्न पत्राचार हुनुका साथै नयाँ विद्युतीय खरिद प्रणालीको दोस्रो संस्करण समेत सञ्चालनमा ल्याइएको छ। सुशासनतर्फ राष्ट्रिय सतर्कता केन्द्रले १६ वटा सार्वजनिक निकायको अनुगमन गरी २८ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।