सल्यान, २० कार्तिक । फिरन्ते जीवनशैली बिताउँदै आएको लोपोन्मुख राउटे समुदायको यथार्थ बुझ्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा पुग्नुभएको छ। मन्त्री बादीले बस्तीमै पुगेर राउटे महिला तथा बालबालिकासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको जीवनशैली, खानपान, स्वास्थ्य र दैनिक गुजाराका समस्याबारे गहिरो चासो लिनुभएको हो।
भेटका क्रममा राउटेहरूले मन्त्री बादीलाई आफ्नै मौलिक सीपबाट काठ खोपेर बनाएका तीनवटा परम्परागत भाँडा उपहारस्वरूप प्रदान गरेका थिए। समुदायको चिनो खुसीसाथ ग्रहण गर्दै मन्त्री बादीले राउटेहरूले बनाउने काठका सामग्री र महिलाहरूले उनेका मालाहरूलाई उचित बजार र मूल्य दिलाउन सरकारले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। परम्परागत कला र सीपलाई आयआर्जनसँग जोडेर मात्र यो समुदायको आर्थिक जीवनस्तर उकास्न सकिने उहाँको भनाइ थियो।
मन्त्री बादीले समुदायको मौलिक संस्कृति र पहिचानलाई जोगाउँदै राउटे बालबालिकालाई शिक्षा र स्वास्थ्यको मूलधारमा ल्याउनुपर्नेमा विशेष जोड दिनुभयो। सो क्रममा उहाँले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे बालबालिकाका लागि बस्तीमै चलाएको घुम्ती सिकाइ केन्द्रको समेत अनुगमन गरी त्यहाँको पठनपाठनबारे जानकारी लिनुभएको थियो। बालबालिकाको अधिकार रक्षा र समुदायको सम्मानजनक जीवनयापनका लागि राज्य जिम्मेवार भएर लाग्ने उहाँले स्पष्ट पार्नुभयो।