Loading

अनलाइन ठगीको पैसा जोगाउन चौबीसै घण्टा खट्ने प्रहरीको नयाँ टिम : यस्तो छ काम गर्ने शैली र सम्पर्क गर्ने उपाय

अनलाइन ठगीको पैसा जोगाउन चौबीसै घण्टा खट्ने प्रहरीको नयाँ टिम : यस्तो छ काम गर्ने शैली र सम्पर्क गर्ने उपाय

काठमाडौँ , २० कार्तिक। मोबाइलमा चिट्ठा पर्‍यो भनेर, आकर्षक जागिरको प्रलोभन देखाएर वा धम्क्याएर सोझासाझा नागरिकको बैंक तथा डिजिटल वालेटबाट रकम कुम्ल्याउने अनलाइन ठगहरूलाई तह लगाउन नेपाल प्रहरीले चौबीसै घण्टा सक्रिय रहने गरी ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ। प्रहरी उपरीक्षक (एसपी) को प्रत्यक्ष कमान्डमा साइबर ब्युरोभित्रै स्थापना गरिएको यो विशेष टोलीले उजुरी पाउनासाथ ठगीको रकम अर्को खातामा पुगेर झिकिनुअगावै तत्काल रोक्ने काम गर्छ।

यो कुनै सामान्य अनुसन्धान टोली मात्र नभई ठगीको रकम तत्काल रोक्न आवश्यक पर्ने सबै प्रमुख निकायका प्रतिनिधिहरू एउटै कोठामा बसेर काम गर्ने संयुक्त संयन्त्र हो। केन्द्रमा चौबीसै घण्टा तीन सिफ्टमा गरी कुल ११४ जनाको जनशक्ति खटाइएको छ। जसमा नेपाल प्रहरीका ३३ जना अनुसन्धान अधिकृत, वाणिज्य बैंकहरूबाट प्रति सिफ्ट २० जनाका दरले ६० जना बैंकिङ कर्मचारी, इसेवा र आईएमई खल्तीका ६ जना प्रतिनिधि, टेलिकम तथा इन्टरनेट सेवा प्रदायकका ९ जना प्राविधिक र नेपाल राष्ट्र बैंक तथा विकास बैंकका ६ जना नियमन अधिकृतहरू भौतिक रूपमै सँगै बसेर काम गर्छन्।

पीडित नागरिकले ठगी भएको खबर गरेपछि यो टोलीले ढिलाइ नगरी मिनेट–मिनेटमा तीव्र गतिमा प्राविधिक कारबाही अघि बढाउँछ। पहिलो १० मिनेटभित्र उजुरी दर्ता गरी केस नम्बर तयार पारिन्छ र त्यसपछिको २० मिनेटभित्र बैंक तथा वालेटका प्रतिनिधिहरूले ठगिएको रकम कुन खाता वा डिजिटल वालेटमा पुग्यो भनी अन्तिम बिन्दु पत्ता लगाउँछन्। उजुरी परेको ६० मिनेटभित्रै ठगको बैंक खाता वा वालेट तुरुन्त ‘डेबिट फ्रिज’ गरी पैसा निकाल्न नमिल्ने बनाइन्छ भने ठगीमा प्रयोग भएका सिमकार्ड, फर्जी वेबसाइट र इन्टरनेट लिङ्कहरू तत्काल बन्द गराइन्छ।

यदि कुनै नागरिकको बैंक खाता वा डिजिटल वालेटबाट अनलाइन ठगी भएमा वा शंकास्पद लिङ्कमा क्लिक गरेर रकम काटिएमा बिना कुनै संकोच तुरुन्तै काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरोको हटलाइन फोन नम्बर वा चौबीसै घण्टा चल्ने आकस्मिक सम्पर्क नम्बरमा फोन गरेर जानकारी गराउन सकिन्छ। त्यसैगरी साइबर ब्युरोको आधिकारिक इमेल, अनलाइन पोर्टल वा आफूलाई पायक पर्ने नजिकको प्रहरी कार्यालय र सम्बन्धित बैंकको शाखामा पुगेर कारोबारको स्क्रिनसट, ठगको फोन नम्बर र खाता विवरणसहित उजुरी दिन सकिन्छ। रकम जोगिने सम्भावना ठगी भएको सुरुवाती एक घण्टामा सबैभन्दा बढी हुने भएकाले घटना हुनासाथ तुरुन्त खबर गर्न प्रहरीले सबैमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार