काठमाडौँ , १९ कार्तिक। हिउँदयामको सुरुआतमै हिमाली क्षेत्रमा हुने भारी हिमपात र तराई–मधेशमा चल्ने कठ्याङ्ग्रिँदो शीतलहरबाट नागरिकलाई जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समयमै कडा तयारी थालेको छ। हरेक वर्ष दोहोरिने चिसोको कहरबाट मानवीय क्षति हुन नदिन प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ र ‘हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को मस्यौदा तयार पारी सरोकारवालासँग घनीभूत छलफल सुरु गरेको छ।
मस्यौदामा विपद्बाट बढी प्रभावित हुने जिल्लाहरूको वर्गीकरण, जोखिमका कारण, न्यूनीकरणका ठोस उपाय र उद्धार–राहतका रणनीतिक क्रियाकलापहरू समेटिएका छन्। हिमाली भेगमा अत्यधिक चिसो र हिमपातका कारण दैनिक जनजीवन ठप्प हुने, मानवीय दुर्घटना निम्तिने तथा विपन्न वर्ग र पशुपन्छीमा पर्ने गम्भीर असर रोक्न पूर्वसूचना प्रणालीलाई चुस्त बनाइने योजना छ।
त्यसैगरी, तराई–मधेशमा शीतलहरका कारण बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्य जोखिम उच्च हुने तथा न्यून दृश्यता (visibility) का कारण सडक र हवाई उडान प्रभावित हुने समस्या घटाउन प्राधिकरणले स्थानीय तहहरूसँग समन्वय गरी दाउरा, न्यानो कपडा र स्वास्थ्य सहायताको पूर्वव्यवस्था मिलाउने तयारी गरेको छ। हिउँद सुरु हुनुअगावै कार्ययोजनालाई अन्तिम रूप दिएर तीनवटै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्राधिकरणले जनाएको छ।