Loading

राराको तीरमा सातै प्रदेशका कानुनी कमान्डर : संघीयता र न्यायको नयाँ मार्गचित्र कोरिँदै

राराको तीरमा सातै प्रदेशका कानुनी कमान्डर : संघीयता र न्यायको नयाँ मार्गचित्र कोरिँदै

मुगु, १९ कार्तिक। प्राकृतिक सौन्दर्यको अनुपम संगम रारा ताल क्षेत्रमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने उच्चस्तरीय राष्ट्रिय सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभएको हो।

मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशको आयोजनामा सुरु भएको सम्मेलनमा कर्णालीका मुख्यमन्त्री, महान्यायाधिवक्ता, नायव महान्यायाधिवक्ता, प्रमुख सचिव तथा सातै प्रदेशका मुख्य न्यायाधिवक्तासहित २४ जना विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ। कानुनी क्षेत्रका समसामयिक मुद्दा, कानुन व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि तथा न्यायिक क्षेत्रमा देखिएका व्यावहारिक चुनौती पहिचान गरी ठोस समाधान पहिल्याउन यो भेला आयोजना गरिएको कर्णालीका मुख्य न्यायाधिवक्ता सर्वराज जैसीले जानकारी दिनुभयो।

सम्मेलनमा न्याय सम्पादनको प्रभावकारिता, कानुनी शासनको प्रत्याभूति, सीमान्तकृत नागरिकको न्यायमा पहुँच अभिवृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीचको संवैधानिक एवं कानुनी समन्वयका विषयमा घनीभूत छलफल हुनेछ। सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूलाई एउटै मञ्चमा उभ्याएर साझा समस्या, अनुभव र संघीयता कार्यान्वयनका कानुनी पाटाबारे बृहत् मन्थन गरी शुक्रबार निष्कर्ष निकालिनेछ।

राष्ट्रियस्तरको यस्तो महत्त्वपूर्ण भेलाले मुगु जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुर्‍याएको छ। डाँफे होटलका सञ्चालक शैलेन्द्र बमका अनुसार देशका शीर्ष कानुनी व्यक्तित्वहरूको उपस्थितिले रारालाई राष्ट्रियस्तरमा थप चिनाउन र पर्यटकीय आकर्षण बढाउन उल्लेख्य भूमिका खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार