Loading

कर्णाली सरकारका ५ ‘बोल्ड’ निर्णय : यौन दुर्व्यवहारमा शून्य सहनशीलता, दुई नयाँ कानुन आउँदै

कर्णाली सरकारका ५ ‘बोल्ड’ निर्णय : यौन दुर्व्यवहारमा शून्य सहनशीलता, दुई नयाँ कानुन आउँदै

वीरेन्द्रनगर (सुर्खेत) १८ कार्तिक। कर्णाली प्रदेश सरकारले कर्मचारीको पेन्सन सुरक्षादेखि कार्यस्थलमा हुने यौनजन्य हिंसा रोक्नेसम्मका ५ वटा दूरगामी र महत्त्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा हिजो मंगलबार (२०८३ कात्तिक १७ गते) बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले जानकारी दिनुभएको हो।

सरकारी तथा गैरसरकारी कार्यालयहरूमा महिला तथा कर्मचारीमाथि हुने हिंसा र दुर्व्यवहारलाई पूर्ण रूपमा रोक्न सरकारले ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको छ। यससँगै प्रदेशका सम्पूर्ण योजनाहरूलाई सीमान्तकृत र लक्षित वर्गमैत्री बनाउन ‘कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३’ समेत पारित भएको छ।

यसैगरी, लामो समयदेखि पर्खाइमा रहेका दुई महत्त्वपूर्ण विधेयकहरू प्रदेश सभामा लैजाने बाटो खुलेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले अघि बढाएको ‘योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३’ र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेश सभामा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। यी विधेयक पारित भएसँगै प्रदेशका कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित हुनुका साथै नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउन कानुनी आधार तयार हुनेछ।

यस्तै किसानको उत्पादन र गुणस्तरलाई केन्द्रमा राख्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने आधिकारिक निकाय तोक्ने निर्णय पनि बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार