मान्म (कालीकोट) १७ कार्तिक। सरकारले बालबालिकाको पोषण तथा समग्र स्वास्थ्य विकासलाई लक्षित गरी सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण आज कात्तिक १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको छ। यस वर्ष दशैँ बिदाका कारण नियमित तालिकाभन्दा केही दिन पछाडि सरेको यो देशव्यापी अभियान आज र भोलि (कात्तिक १७ र १८ गते) दुई दिनसम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत देशभरका ६ महिनादेखि ५९ महिनासम्मका शिशु तथा बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई जुकाको औषधि (अल्बेन्डाजोल) खुवाइँदै छ। बालबालिकालाई रतन्धोलगायत आँखासम्बन्धी समस्याबाट जोगाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र पेटमा पर्ने जुकाका कारण हुने रक्तअल्पता एवं कुपोषण न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी मानिन्छ।
कालीकोट जिल्लामा पनि यो अभियानलाई पूर्ण रूपमा सफल बनाउन जिल्लाका सबै स्थानीय तह तथा वडाहरूमा आवश्यक तयारी पूरा गरी आज बिहानैदेखि औषधि खुवाउने कार्य सुरु गरिएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका तोकिएका वितरण केन्द्र तथा खोप केन्द्रहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक औषधिसहित परिचालन गरिएको छ। उहाँले विकट भूगोलका कारण कुनै पनि बालबालिका यो महत्त्वपूर्ण अवसरबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूलाई उच्च सतर्कताका साथ खटाइएको बताउनुभयो। साथै, आफ्ना ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई नजिकैको केन्द्रमा लगेर ढुक्कसँग भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सम्पूर्ण अभिभावकहरूलाई सूचना अधिकारी महतले विशेष अनुरोध गर्नुभएको छ।
