सुर्खेत, १२ कार्तिक । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारी साधनमा लुकाइछिपाइ ल्याइएको अवस्थामा प्रहरीले ठूलो परिमाणको अवैध पटका बरामद गरेको छ। जिल्लाको भेरीगङ्गा नगरपालिका–५ स्थित बबई चेकपोष्टबाट प्रहरी टोलीले करिब एक लाख ६० हजार रुपैयाँ बराबरको पटका नियन्त्रणमा लिएको हो।
मंगलबार राति करिब साढे ८ बजेको समयमा बबई चेकपोष्टमा खटिएको नियमित सवारी जाँच टोलीले नेपालगञ्जबाट यात्रु तथा सामान लिएर आउँदै गरेका गाडीहरूमा शंका लागी खानतलासी गरेको थियो। प्रहरी सहायक निरीक्षक महेशप्रसाद उपाध्यायको नेतृत्वमा खटिएको उक्त टोलीले सवारी साधनका विभिन्न भागमा लुकाएर ल्याउँदै गरेका प्रतिबन्धित विस्फोटकजन्य पटकाहरू फेला पारेको थियो।
बरामद गरिएका सामग्रीहरूमा सानो आकारको अक्टोपस पटका ५ हजार थान, म्याजिक पटका २ सय थान, सलाई पटका ८० थान, सेल ब्याट्री पटका ५० थान, रकेट पटका ३६ थान, पेन्टा पटका २० थान, फ्लावर पटका २० थान र पप पटका ३ थान गरी जम्मा ५ हजार ४०९ थान पटका रहेका छन्।
नियन्त्रणमा लिइएका सम्पूर्ण पटकाहरूलाई सुरक्षित रूपमा अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। खानतलासी तथा बरामदको प्रक्रिया पूरा भएपछि यात्रुवाहक तथा मालवाहक सवारी साधनहरूलाई भने आ–आफ्नो गन्तव्यतर्फ पठाइएको छ। चाडपर्वको समय नजिकिँदै गर्दा गैरकानुनी रूपमा ओसारपसार हुनसक्ने यस्ता विस्फोटक र जोखिमयुक्त पटका नियन्त्रण गर्न सीमा क्षेत्र तथा मुख्य प्रवेश बिन्दुहरूमा निगरानी कडा बनाइएको प्रहरीले जनाएको छ।