कालीकोट,१० कार्तिक । आगामी बिहीबारदेखि देशैभर वर्षा तथा हिमपातको जोखिम रहेको भन्दै जिल्ला विपद् पूर्वतयारी मजबुत बनाउन डाकिएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा सेवा प्रदायक निकायहरूबीच आरोप–प्रत्यारोप चलेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा बसेको बैठकमा सहभागीहरूले विपद्का समयमा अत्यावश्यक मानिने सञ्चार र विद्युत् सेवाकै भर नभएको भन्दै आक्रोश पोखेपछि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिबीच चर्काचर्की भएको हो।
बैठकमा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले महावै, पलाँता, पचालझरनालगायत जिल्लाका अधिकांश स्थानीय तहमा नेपाल टेलिकमको सेवा निकै कमजोर रहेको, कल ड्रप हुने समस्या बढेको र घाम लाग्दा मात्र टावरले काम गर्ने अवस्था रहेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए।
सहभागीहरूको तीव्र गुनासोपछि नेपाल टेलिकम कालीकोटका कार्यालय प्रमुख प्रेमबहादुर विष्टले स्थानीय स्तरमा बजेट र अख्तियारी नहुँदा समस्या समाधान गर्न नसकिएको प्रस्ट पार्नुभयो।
“कालीकोट शाखाले जनताबाट जस्ता गुनासा आउँछन्, त्यस्तै माथिल्लो तहमा सिफारिस गरेर पठाउने बाहेक अन्य काम र अधिकार हुँदैन, हामीसँग छुट्टै बजेट पनि छैन,” विष्टले भन्नुभयो, “कालीकोटका धेरैजसो टावरमा पावरको चरम अभाव छ। घाम नलाग्दा सोलारले काम नगरेर टावर डाउन हुन्छ। ती ठाउँहरूमा विद्युत् पुर्याउने काम विद्युत् प्राधिकरण र स्थानीय तहको पनि हो।”
टेलिकम प्रमुखले विद्युत् नपुगेका कारण टावर बन्द हुने आरोप लगाएपछि नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका इन्जिनियर प्रकाशबहादुर शाहीले त्यसको कडा प्रतिवाद गर्नुभयो। लाइन जानेबित्तिकै कार्यालयका कर्मचारीलाई हप्काउने, धम्काउने र थर्काउने प्रवृत्ति बढेको भन्दै उहाँले असन्तोष पोख्नुभयो।
“भौगोलिक विकटता र सडक पहुँचको अभावका कारण भनेकै समयमा पुगेर मर्मत गर्न कठिन हुन्छ,” इन्जिनियर शाहीले भन्नुभयो, “अहिले जिल्लाका आठवटै स्थानीय तहमा प्रोजेक्टमार्फत विद्युतीकरणको काम भइरहेको छ। पहाडका डाँडाका टुप्पामा रहेका टेलिकमका टावरमा तत्काल बत्ती पुर्याउनुभन्दा त्यही लागतमा बस्तीहरूमा बिजुली पुर्याउनु हाम्रो पहिलो प्राथमिकता हो।”
बैठकमा सहभागीहरूले टेलिफोन र बिजुलीको समस्यासँगै जिल्लाका ग्रामीण सडकको दयनीय अवस्था र सडक स्तरोन्नति नहुँदा उद्धार कार्य प्रभावित हुने चिन्ता व्यक्त गरेका थिए। साथै, नगरपालिकाको प्रशासनिक भवन निर्माणका क्रममा जथाभावी खनिएको जगका कारण मानवनिर्मित विपत्ति निम्तिएको विषयमा समेत सरोकारवालाहरूबीच चर्को छलफल भएको थियो।
कात्तिक १२ गतेदेखि १५ गतेसम्म वर्षा तथा हिमपातको उच्च जोखिम रहेकाले जिल्लाको विपद् पूर्वतयारी र प्रतिकार्य चुस्त बनाउन प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईको अध्यक्षतामा उक्त बैठक डाकिएको थियो। तर, बैठकमा विपद्का बेला नभई नहुने न्यूनतम आधारभूत सेवाहरूमै सरोकारवाला निकायहरूको लाचारी, गैरजिम्मेवारीपन र असमन्वय स्पष्ट रूपमा सतहमा देखिएको छ।