कालीकाेट,कात्तिक ६ गते। मुगुको सदरमुकाम गमगढीदेखि चीनसँगको रणनीतिक उत्तरी नाका नाक्चेलाग्ना जोड्ने सडक दुई दशक बितिसक्दा पनि कछुवा गतिमै सीमित बनेको छ। वि.सं. २०६२/६३ मा सर्वेक्षण सुरु भई २०७२/७३ बाट निर्माण थालिएको ९३ किलोमिटर लामो यस सडकमा १० वर्षको अवधिमा जम्मा साढे १८ किलोमिटर मात्रै ट्र्याक खुल्न सकेको छ। सडक निर्माणले गति लिन नसक्दा मुगुको मुगुम कार्मारोङ गाउँपालिका अहिलेसम्म राष्ट्रिय सडक सञ्जालभन्दा बाहिरै छ।
कर्णालीको व्यापार, पर्यटन र स्थानीय अर्थतन्त्रलाई कायापलट गर्ने सामर्थ्य बोकेको यो सडकमा कडा चट्टानी भूगोल, विस्फोटक पदार्थको अभाव, अपर्याप्त बजेट र राज्यको प्राथमिकताको चरम अभाव मुख्य बाधक बनेका छन्। गमगढीबाट हाल मुगुम कार्मारोङ गाउँपालिका–९ नजिकैको छाइल–सुलसुले भीरसम्म मात्र सडक पुगेको छ। बाँकी खण्डमा कडा चट्टानी पहाड फोर्न नेपाली सेनाको समन्वयमा मांग्री भीरको २२० मिटर चट्टान ब्लास्टिङको काम अघि बढाइएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्न १५ करोड रुपैयाँ लागतमा जागृति–रारा तेन्जिङ–नोर्याङ जेभीसँग २०८२ जेठ २२ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने सडक डिभिजन जुम्लाका प्रमुख इन्जिनियर श्रवणकुमार महताराले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा सुर्खेत–गमगढी–नाक्चेलाग्ना सडकका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ। यद्यपि, विगतका वर्षहरूमा बजेटको न्यून विनियोजन र ढिलासुस्तीका कारण तोकिएकै समयमा काम सम्पन्न हुनेमा स्थानीयवासी संशय व्यक्त गर्छन्।
सडक नहुँदा मुगुम कार्मारोङका बासिन्दा दैनिक उपभोग्य खाद्यान्न, औषधि, स्वास्थ्य उपकरण तथा विकास निर्माणका सामग्री ढुवानी गर्न खच्चड र भरियामै निर्भर हुन बाध्य छन्। जटिल बिरामीलाई अस्पतालसम्म पुर्याउन समेत सास्ती खेप्नुपरेको छ भने महँगो ढुवानीका कारण जनजीवन कष्टकर बनेको छ।
यो सडक पूर्ण रूपमा सञ्चालनमा आए चीनसँगको सीमा व्यापार सहज हुनुका साथै कर्णालीका बहुमूल्य जडीबुटी (यार्सागुम्बा, गुच्ची च्याउ, सतुवा, कटुकी) र स्थानीय उत्पादन (स्याउ, चिनो, फापर, घिउ, छुर्पी) ले सहजै अन्तर्राष्ट्रिय बजार पाउनेछन्। त्यसैगरी छायानाथ धाम, ऐतिहासिक मुगु गाउँ र प्राचीन गुम्बाहरूमा धार्मिक तथा साहसिक पर्यटन प्रवर्द्धन हुने भए पनि राज्यको सुस्त कार्यशैलीले नाका जोड्ने सपना अझै अनिश्चित बनेको छ।