काठमाडौँ, कात्तिक ६ गते । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ।
नाग्छु सहरको बाकेन काउन्टी केन्द्रविन्दु भएर बिहीबार राति १० बजेर ३३ मिनेटमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा १६ जनाको ज्यान गएको छ। नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार घटनामा ३२ जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था निकै गम्भीर छ।
मध्यराति जमिन हल्लिँदा ३०० भन्दा बढी घरहरू क्षणभरमै भग्नावशेषमा परिणत भएका छन्। प्रभावित क्षेत्रमा उद्धारका लागि ३०० भन्दा बढी प्रहरी र ३४७ जना विपद् उद्धार टोलीका सदस्यहरू खटिएका छन्।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार भग्नावशेषमुनि अझै मानिसहरू पुरिएको आशंकामा खोजी कार्य तीव्र बनाइएको छ भने क्षतिको थप विवरण संकलन भइरहेको छ।