कालीकोट,असाेज ३० गते । कर्णालीका दुर्गम नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने क्रममा कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनअन्तर्गत मालपोत तथा नापी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। नगर प्रमुख धर्मराज शाहीले एक समारोहबीच उक्त सेवाको उद्घाटन गर्नुभएको हो।
जग्गा प्रशासनसम्बन्धी सामान्य कामका लागि समेत खर्चिलो र जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम मान्म धाउनुपर्ने भौगोलिक बाध्यताको अब अन्त्य भएको छ। यसअघि कर्णालीमै पहिलोपटक करदाता सेवा (प्यान दर्ता) र गत वैशाखदेखि इलाका प्रशासनमार्फत नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको रास्कोटले भूमि प्रशासन सेवा थपेर विकेन्द्रीकरणको बलियो अभ्यास देखाएको छ।
यसबाट रास्कोटसहित छिमेकी सान्नीत्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकको समय, श्रम र आर्थिक भार बचत हुनेछ। दक्ष जनशक्ति र प्रविधिमैत्री व्यवस्थापनसहित सेवालाई निरन्तरता दिन सके यसले संघीयताको वास्तविक अनुभूति दिलाउँदै दुर्गममा राज्यको उपस्थितिलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।