कालीकोट, असाेज २४ गते । जिल्लामा बालबालिकाको पोषण अवस्था सुधार्न र शीघ्र कुपोषणको प्रभावकारी उपचार तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ स्वास्थ्यकर्मीहरूका लागि आयोजित तीन दिने एकीकृत शीघ्र कुपोषण व्यवस्थापन (IMAM) सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा एपिक एमएनएसिएच एन्ड न्युट्रिसन प्रोजेक्ट (EpiC MNCH and Nutrition project) र भिडीसेफ नेपाल (VDSEF Nepal) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित तालिमको अध्यक्षता स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले गर्नुभएको थियो। तालिमको उद्घाटन सत्रमा भिडीसेफ नेपालकी अध्यक्ष कल्पना रावलको विशेष आतिथ्यता रहेको थियो।
तालिमको समापन गर्दै स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनारले विकट भूगोलका कारण कालीकोटका दुर्गम बस्तीहरूमा कुपोषणको जोखिम उच्च रहेकाले स्थानीय स्वास्थ्य चौकी तहमै कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले तालिममा सिकेका ज्ञान, सीप र उपचार विधिलाई कार्यक्षेत्रमा अक्षरशः लागू गरी कुपोषणग्रस्त बालबालिकाको पहिचान, समयमै व्यवस्थापन र परामर्श सेवालाई तीव्रता दिन सहभागीहरूलाई निर्देशन दिनुभयो।
कार्यक्रममा विशेष अतिथि रावलले दुर्गमका आमा र बालबालिकाको पोषण सुरक्षाका लागि स्थानीय स्वास्थ्य संयन्त्रसँग हातेमालो गर्दै संस्थागत सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्लाभरिका विभिन्न स्वास्थ्य संस्थाबाट सहभागी स्वास्थ्यकर्मीहरूलाई दक्ष प्रशिक्षकहरूले शीघ्र कुपोषणको क्लिनिकल व्यवस्थापन, बहिरङ्ग उपचार सेवा (OTP) सञ्चालन तथा पोषण परामर्शका व्यावहारिक पक्षबारे प्रशिक्षण दिएका थिए। स्वास्थ्य सेवा कार्यालयले तालिमलाई सफल बनाउन योगदान पुर्याउने सहजकर्ता, सहभागी तथा सहयोगी संस्था भिडीसेफ नेपालप्रति आभार प्रकट गरेको छ।