Loading

दाउन्नेमा यात्रुवाहक बस नालामा खस्दा ६ जनाको मृत्यु, १२ घाइते : ५ मृतकको पहिचान खुल्यो

दाउन्नेमा यात्रुवाहक बस नालामा खस्दा ६ जनाको मृत्यु, १२ घाइते : ५ मृतकको पहिचान खुल्यो

नवलपुर, असाेज १७ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने खण्डमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बिहान करिब ४ बजे नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको नालामा खसेको थियो।

दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये ५ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितले जानकारी दिए। पहिचान खुल्ने मृतकहरूमा जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन्। पहिचान खुल्न बाँकी अर्का एक मृतक अन्दाजी ४०/४२ वर्षीय पुरुष रहेका छन्।

दुर्घटनामा घाइते भएका १२ जना यात्रुलाई तत्काल उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा र भरतपुर अस्पताल चितवन पठाइएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तीव्र गति र घुम्तीका कारण चालकले सवारीमाथिको नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार