काठमाडौँ,असाेज १७ गते । यस वर्षको वर्षायाम अन्त्यतर्फ धकेलिँदै मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुनी प्रणाली पूर्ण रूपमा बाहिरिएको छ।
महाशाखाले शनिबार (असोज १७ गते) बिहान ११ बजे जारी गरेको मनसुन बहिर्गमन सम्बन्धी विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी भूभागबाट मनसुन हटे पनि मध्य र पूर्वी नेपालमा भने अझै मनसुनी वायुको प्रभाव कायमै छ। यद्यपि, मनसुनी वायु निरन्तर कमजोर बन्दै गइरहेकाले आगामी केही दिनभित्रै देशका बाँकी भूभागहरूबाट समेत मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ सम्ममा बाहिरिने गर्दछ। यस वर्ष भने मनसुन तोकिएको मितिभन्दा केही ढिलो गरी जुन १९ (असार ५ गते) नेपाल प्रवेश गरेको थियो।
यसअघि बंगालको खाडी आसपास विकसित भएको न्यूनचापीय प्रणालीका कारण मनसुनको बहिर्गमन प्रक्रियामा केही दिन ढिलाइ भएको विभागले जनाएको छ। पश्चिम नेपालबाट मनसुन बाहिरिएसँगै ती क्षेत्रहरूमा मौसम सफा हुँदै गएको छ भने मध्य र पूर्वी भेगमा पनि क्रमशः वर्षाको क्रम घट्दै जाने पूर्वानुमान गरिएको छ।