जुम्ला, असाेज १८ गते । बालबालिकाहरूमा देखिने कुपोषणको समस्यालाई समयमै पहिचान गरी प्रभावकारी उपचार तथा व्यवस्थापन गर्ने उद्देश्यले जुम्लाका स्वास्थ्यकर्मीहरूका लागि सञ्चालित ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन’ सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा जिल्लाभरिका बहिरङ्ग पोषण उपचार केन्द्र (ओटीसी) मा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको हो। असोज १५ देखि १७ गतेसम्म सञ्चालित उक्त तालिमको पहिलो दुई ब्याच सफलतापूर्वक सम्पन्न भएको कार्यालयले जनाएको छ।
तालिममार्फत स्वास्थ्यकर्मीहरूलाई समुदायस्तरमै पुगेर बालबालिकाको पोषण अवस्थाको सही मापन गर्ने, कुपोषणको प्रारम्भिक लक्षण पहिचान गर्ने, अभिभावकलाई पोषण परामर्श दिने तथा मध्यम र कडा खालको शीघ्र कुपोषणको वैज्ञानिक व्यवस्थापन गर्ने व्यावहारिक सीप सिकाइएको छ।
यस तालिमपश्चात् समुदायस्तरमा जोखिममा रहेका कुपोषित बालबालिकाहरूको समयमै पहिचान हुने र जिल्लास्थित ओटीसी केन्द्रहरूबाट सही मापदण्डका आधारमा प्रभावकारी परामर्श तथा उपचार सेवा उपलब्ध हुने विश्वास लिइएको छ। साथै, जटिल समस्या देखिएका बालबालिकाहरूलाई समयमै सम्बन्धित पोषण पुनर्स्थापना गृह तथा अस्पतालहरूमा प्रेषण (रेफर) गरी ज्यान जोखिममा पर्नबाट जोगाउन सहज पुग्ने अपेक्षा गरिएको छ।