सुर्खेत,असाेज १७ गते । कर्णाली प्रदेश भलिबल संघको चौथो अधिवेशनबाट ईश्वरबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्ष पदमा गणेशबहादुर विष्ट, महासचिवमा खेमराज केसी र कोषाध्यक्षमा नैनसरा बुढा निर्वाचित भएका छन्। यसैगरी कार्यसमिति सदस्यहरूमा भुपेन्द्रकुमार डिसी, लक्ष्मीबहादुर रावल र बाबुराम सुनार चयन भएका छन्।
अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सचिव भोमबहादुर श्रेष्ठ (संगम) तथा केन्द्रीय कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय पदाधिकारीहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा कर्णालीमा भलिबलको व्यावसायिक विकास, नयाँ प्रतिभाको खोजी तथा खेलाडी उत्पादनमा विशेष योजना बनाएर लाग्न सुझाव दिए।
उनीहरूले नजिकिँदै गरेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा नयाँ कार्यसमितिले समन्वयकारी र उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे। नवनिर्वाचित नेतृत्वले कर्णाली प्रदेशलाई भलिबल खेलको उर्वर भूमिको रूपमा स्थापित गर्न गाउँस्तरसम्म प्रशिक्षण र प्रतियोगिता विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।