रास्कोट (कालीकोट) असाेज १८ गते । ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रत्याभूत गराउने उद्देश्यका साथ कालीकोटको रास्कोट अस्पतालमा ‘न्यूनतम सेवा मापदण्ड’ (NSI) कार्यान्वयनको अवस्थाबारे अनुगमन, मूल्याङ्कन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
रास्कोट नगरपालिकास्थित अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रममा निक साइमन्स इन्स्टिच्युट (एनएसआई), स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत तथा जिल्ला अस्पताल कालीकोटको संयुक्त प्राविधिक तथा विशेषज्ञ टोलीको सहभागिता रहेको थियो। टोलीले अस्पतालले हालसम्म प्रवाह गर्दै आएका बहिरङ्ग (ओपीडी), आकस्मिक, प्रसूति, प्रयोगशाला, भर्ना सेवा तथा फार्मेसी व्यवस्थापनको स्थलगत निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा स्वास्थ्य संस्थामा नेपाल सरकारद्वारा निर्धारित न्यूनतम सेवा मापदण्डको परिपालना, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, उपकरणको उपलब्धता तथा बिरामीमैत्री वातावरणको वर्तमान अवस्थाबारे विस्तृत समीक्षा तथा लेखाजोखा गरिएको छ। समीक्षा बैठकमा उपस्थित सरोकारवालाहरूले सेवा प्रवाहमा देखिएका कमीकमजोरी, जनशक्तिका चुनौती र आगामी दिनमा अस्पतालको गुणस्तर सुधार गर्न चालिनुपर्ने रणनीतिक कदमबारे गहन छलफल गरेका थिए।
नागरिकलाई आफ्नै गाउँठाउँमा भरपर्दो र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न यो नियमित अनुगमन तथा मूल्याङ्कनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। समीक्षाबाट प्राप्त सुझाव र मार्गदर्शनलाई आधार बनाएर अस्पतालको समग्र सेवा प्रवाहलाई थप चुस्त, जनमुखी र प्रभावकारी रूपमा अघि बढाइने अस्पताल प्रशासनले जनाएको छ।