गैराखाडा (कालीकोट) असाेज १७ गते । दसैँ नजिकिँदै गर्दा कर्मचारीहरू बिदाको सुरसारमा लागिरहेका बेला महावै गाउँपालिकाको केन्द्र गैराखाडामा अचानक जिल्लाको उच्च प्रशासनिक र सुरक्षा कमाण्ड एकसाथ ओर्लिएपछि स्थानीय स्तरमा अनेकौँ अड्कलबाजी र चर्चा सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी छविराज भट्टराई, प्रहरी प्रमुख (डीएसपी) हिमबहादुर खत्री, सहायक प्रजिअ जनक शर्मा र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईंसहितको टोली एक्कासि पालिका कार्यालय पुगेपछि कर्मचारी र शिक्षकहरूमा समेत एकछिन ‘के हुन लाग्यो’ भन्ने कौतूहल र हलचल मच्चिएको थियो।
महावै पुगेको जिल्लाको उक्त टोलीलाई गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रबहादुर थापा तथा कार्यालयमा उपलब्ध कर्मचारीहरूले स्वागत गरेका थिए।
बाहिरबाट हेर्दा कार्यक्रम विजया दशमीको शुभकामना आदान–प्रदानजस्तो देखिए पनि भित्री रूपमा भने चाडबाडका बेला सरकारी सेवा ठप्प पार्ने र कार्यक्षेत्र छाडेर हिँड्ने प्रवृत्तिमाथि प्रशासनले कडा निगरानी गर्न पुगेको प्रस्ट भएको छ।
महावै गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, शाखाका कर्मचारी र स्थानीय विद्यालयका शिक्षकहरूलाई एकै ठाउँमा राखेर प्रमुख जिल्ला अधिकारी छविराज भट्टराईले चाडपर्वको बहाना बनाएर नागरिकको सेवामा कुनै पनि किसिमको सम्झौता नगर्न स्पष्ट निर्देशन दिनुभयो। दुर्गमका बासिन्दा पालिका वा वडा कार्यालयमा सेवा लिन आउँदा कर्मचारी नभेटिने, काममा ढिलासुस्ती गर्ने वा बहानाबाजी गरेर फर्काउने पुरानो रोग दोहोरिए कडा कानुनी कारबाही हुने चेतावनी प्रजिअले दिनुभएको छ। साथै, विद्यालयमा शिक्षकहरूको नियमित उपस्थिति र शैक्षिक वातावरण चुस्त राख्ने विषयमा पनि टोलीले कडा खबरदारी गरेको छ।
त्यस्तै, जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले दसैँ–तिहारको मौका पारेर गाउँघरमा जुवातास खेल्ने, मदिरा सेवन गरी हुलहुज्जत गर्ने र अशान्ति मच्चाउनेहरूमाथि प्रहरीको विशेष नजर रहने बताउनुभयो। कानुन हातमा लिने जोकोहीलाई तत्काल नियन्त्रणमा लिइने भन्दै गाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभयो।
सेवा प्रवाह, शैक्षिक नियमितता र शान्ति सुरक्षाको समग्र अवस्थामाथि जिल्ला कमाण्डले प्रत्यक्ष वस्तुस्थिति बुझेपछि कार्यक्रमको अन्त्यमा विजया दशमीको शुभकामना आदान–प्रदान गरिएको थियो। शुभकामना साटासाटको आवरणभित्र जिल्ला प्रशासनले महावै पुगेर समग्र सेवा प्रवाहमाथि कडा प्रशासनिक ‘स्क्यानिङ’ गरेको छ।