Loading

विद्यार्थीलाई लागूऔषधको दुर्व्यसनबाट जोगाउन जाजरकोट प्रहरीको सक्रियता

विद्यार्थीलाई लागूऔषधको दुर्व्यसनबाट जोगाउन जाजरकोट प्रहरीको सक्रियता

जाजरकोट,असाेज १६ गते । युवा पुस्तामा बढ्दो लागूऔषधको कुलत र यसले निम्त्याउने सामाजिक तथा कानुनी जोखिम न्यूनीकरण गर्न जाजरकोट प्रहरीले विद्यालयस्तरमै पुगेर सचेतना अभियान तीव्र पारेको छ। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय जाजरकोटले विद्यार्थीहरूलाई कुलतबाट टाढै राखी सभ्य समाज निर्माणमा प्रेरित गर्ने उद्देश्यले विशेष अभिमुखीकरण सम्पन्न गरेको हो।

भेरी नगरपालिका–५ स्थित काफलचौरमा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालयमा शुक्रबार (असोज १६ गते) आयोजित कार्यक्रममा शिक्षालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरी स्वयं उपस्थित भएर लागूऔषध दुरुपयोगका गम्भीर असर, जोखिम र नियन्त्रणका उपायहरूबारे विस्तृत सहजीकरण गरेका थिए।

प्रहरी नायब उपरीक्षक पुरीले लागूऔषधको सेवन र अवैध कारोबारले व्यक्ति स्वयंको भविष्य बर्बादीतर्फ धकेलिने मात्र नभई परिवारमा कलह र समग्र समाजमा अपराधको दर बढाउने बताए। उनले लागूऔषधजन्य अपराधमा संलग्न हुने व्यक्तिमाथि कानुनबमोजिम हुने कडा दण्ड–सजाय, कैद र जरिवानाबारे स्पष्ट पार्दै यसका कानुनी परिणामहरूबारे विद्यार्थीहरूलाई सचेत गराए।

युवा तथा विद्यार्थीहरू लागूऔषध नियन्त्रणका लागि समाजको सबैभन्दा बलियो पहरेदार भएको उल्लेख गर्दै डीएसपी पुरीले आफू सुरक्षित रहँदै समाजलाई पनि यस्ता गतिविधिबाट मुक्त राख्न खबरदारी गर्नुपर्नेमा जोड दिए। उनले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न विद्यार्थीहरूलाई आग्रह गर्दै ‘लागूऔषध त्यागौँ, स्वस्थ र सुरक्षित समाज निर्माण गरौँ’ भन्ने सन्देश व्यवहारमा उतार्न अपिल गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूलाई कुलतविरुद्ध सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गरेको शिक्षालय परिवारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार