कालीकाेट,असाेज १६ गते । कर्णाली राजमार्गअन्तर्गत मान्म–नाग्म सडक खण्डको राँचुलीमा शुक्रबार बिहान खसेको सुक्खा पहिरो द्रुत गतिमा पन्छाएर सवारी आवागमन दुईतर्फी नै सुचारु गरिएको छ। सडक अवरुद्ध भएको छोटो समयभित्रै डिभिजन कार्यालयले देखाएको उच्च सक्रियताका कारण यात्रुहरूले लामो समय सास्ती खेप्नु परेन।
शुक्रबार बिहान करिब ७ बजे राँचुली क्षेत्रमा एक्कासि ठूलो सुक्खा पहिरो खसेपछि रणनीतिक मानिने कर्णाली राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो। सडक अवरुद्ध हुनासाथ सडक डिभिजन जुम्लाको प्राविधिक टोली हेभी उपकरणसहित तुरुन्तै कार्यक्षेत्रमा खटिएको थियो। टोलीले युद्धस्तरमा पहिरो पन्छाएपछि बिहान ९:४५ बजेदेखि नै अवरुद्ध सडक दुवैतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको हो। सडक खुलेसँगै पहिरोका कारण रोकिएका दर्जनौँ यात्रुवाहक बस, जिप तथा मालवाहक सवारीसाधनहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
पछिल्लो समय कर्णाली राजमार्गका संवेदनशील खण्डहरूमा पहिरो खस्नासाथ तत्काल उपकरण परिचालन गरेर सडक खुलाउन सडक डिभिजन जुम्लाले देखाएको तत्परता, पूर्वतयारी र छिटोछरितो कार्यशैलीप्रति स्थानीय बासिन्दा, चालक तथा यात्रुहरूले खुलेर प्रशंसा गरेका छन्। विगतमा सानो पहिरो पन्छाउन पनि घण्टौँ वा दिनभर कुर्नुपर्ने बाध्यता रहेकामा हाल डिभिजनको प्रभावकारी ‘क्विक रेस्पोन्स’ले कर्णालीको यात्रालाई पहिलेभन्दा धेरै सहज र भरपर्दो बनाएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख श्रवणकुमार महताराले नागरिकको यात्रा सहज र सुरक्षित बनाउन आफूहरू हरसमय सजग रहेको बताएका छन्। “राँचुलीमा पहिरो खसेको सूचना पाउनासाथ हामीले नजिकै तयारी अवस्थामा रहेका मेसिन र प्राविधिक टोलीलाई तुरुन्तै परिचालन गर्यौँ र पौने तीन घण्टामै राजमार्ग दुईतर्फी खुलाउन सफल भयौँ,” निमित्त प्रमुख महताराले भने, “यात्रुहरूले बाटोमै अलपत्र परेर दुःख नपाऊन् भन्नेमा हाम्रो टोली सधैँ उच्च सतर्कताका साथ फिल्डमै खटिएको छ।”
सडक दुईतर्फी सञ्चालनमा आए पनि विगतको वर्षाका कारण सडकको भित्तो कमजोर रहेको र माथिबाट जुनसुकै बेला सुक्खा ढुङ्गा तथा माटो खस्ने जोखिम कायमै रहेको छ। सडक डिभिजनले सम्भावित दुर्घटनाबाट बच्न गति नियन्त्रण गर्न र सडकको अवस्था बुझेर मात्र सावधानीपूर्वक यात्रा गर्न सम्पूर्ण सवारी चालक तथा यात्रुहरूमा विशेष अनुरोध गरेको छ।