कालीकोट,असाेज १५ गते । कर्मचारी मिलन केन्द्र कालीकोटको आयोजनामा जिल्लामा नवनिर्वाचित/नवआगन्तुक कार्यालय प्रमुखहरूलाई स्वागत तथा सरुवा भई जान लाग्नुभएका कार्यालय प्रमुखहरूलाई भव्य रूपमा बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार (असोज १५ गते) मिलन केन्द्रका अध्यक्ष अबिराज शाहीको अध्यक्षता तथा केन्द्रका संरक्षक एवं कालीकोटका प्रमुख जिल्ला अधिकारी छविराज भट्टराईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत जिल्लालाई कर्मथलो बनाई सेवा प्रवाहका लागि भर्खरै आगमन हुनुभएका प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय (प्रकोलेनिका) का कार्यालय प्रमुख हरिबहादुर थापा, खानेपानी कार्यालयका कार्यालय प्रमुख हिक्मत बहादुर शाही तथा डिभिजन वन कार्यालयका अधिकृत कमल चित्रकारलाई खादा तथा अबिरसहित हार्दिक स्वागत गरियो।
यसैगरी, कालीकोटमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी अन्यत्र सरुवा हुनुभएका प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका तत्कालीन कार्यालय प्रमुख रामदत्त देवकोटा र जिल्ला हुलाक कार्यालय कालीकोटका कार्यालय प्रमुख टोपबहादुर शाहीलाई जिल्लामा पुर्याएको योगदानको कदर गर्दै बिदाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी छविराज भट्टराईले सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, छिटोछरितो र नतिजामुखी बनाउन जिल्लास्थित सबै सरकारी निकायबीच बलियो अन्तर–समन्वय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले दुर्गम जिल्लामा नागरिकको अपेक्षाअनुसार कार्यसम्पादन गर्न कर्मचारीहरूको उच्च मनोबल र आपसी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
मिलन केन्द्रका अध्यक्ष अबिराज शाहीले स्वागत तथा बिदाइ परम्पराले कर्मचारीहरूबीच भावनात्मक सम्बन्ध प्रगाढ बनाउनुका साथै कार्यस्थलमा सामूहिक जिम्मेवारीको भावना विकास गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले सेवा प्रवाहमा देखिएका चुनौतीहरूलाई मिलेर समाधान गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
One Response
हार्दिक धन्यवाद