Loading

असार पर्खने दिन गए : मंसिर १५ भित्रै योजना सम्झौता सक्न तिलागुफाको ‘अल्टिमेटम’, असारमा रकमान्तर रोक्का

असार पर्खने दिन गए : मंसिर १५ भित्रै योजना सम्झौता सक्न तिलागुफाको ‘अल्टिमेटम’, असारमा रकमान्तर रोक्का

गाल्जे (कालीकोट) असाेज १४ गते । आर्थिक वर्षको अन्त्यतिर हतारमा बजेट सक्ने र गुणस्तरहीन काम गर्ने परिपाटीलाई निरुत्साहित गर्न तिलागुफा नगरपालिकाले कडा आर्थिक तथा कार्य सञ्चालन अनुशासन लागू गरेको छ। नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि मातहतका सबै शाखा, उपशाखा, इकाई र वडा कार्यालयहरूलाई ६ बुँदे विस्तृत मार्गदर्शन जारी गरेको हो।

नगर प्रमुखबाट ‘तिलागुफा नगरपालिका विनियोजन ऐन, २०८३’ प्रमाणीकरण भएसँगै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्ले र लेखा प्रमुख भरत डीसीद्वारा हस्ताक्षरित मार्गदर्शन कार्यान्वयनका लागि पठाइएको छ। जसअनुसार चालु आर्थिक वर्षका सम्पूर्ण योजना तथा कार्यक्रमहरूको सम्झौता आगामी २०८३ मंसिर १५ गतेभित्रै सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी समयावधि तोकिएको छ।

नगरपालिकाले १९ औँ नगर सभाबाट स्वीकृत बजेट र सुत्र (SuTRA) प्रणालीमा प्रविष्ट भएका कार्यक्रमहरूलाई मात्र कार्यान्वयनको आधिकारिक आधार मान्ने स्पष्ट पारेको छ।

परम्परागत रूपमा आर्थिक वर्षको अन्त्यमा हुने वित्तीय अराजकता रोक्न नगरपालिकाले रकमान्तरमा समेत लगाम लगाएको छ। विनियोजन ऐनको परिधिभित्र रही तोकिएको दायरामा मात्र रकमान्तर गर्न पाइने भए पनि असार महिनामा वा नयाँ तथा अस्वीकृत कार्यक्रमका लागि कुनै पनि हालतमा रकमान्तर गर्न नपाइने व्यवस्था गरिएको छ। यसैगरी, गत आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएर पनि संघ तथा प्रदेशबाट बजेट निकासा नहुँदा भुक्तानी रोकिएका योजनाहरूको दायित्व चालु आर्थिक वर्षको बजेटबाट सार्ने व्यवस्था मिलाइने मार्गदर्शनमा उल्लेख छ।

उपभोक्ता समितिमार्फत हुने कामलाई पारदर्शी बनाउन वडा कार्यालयको सिफारिस, आमभेलाको निर्णय, नागरिकताको प्रतिलिपि र प्राविधिक लागत अनुमान अनिवार्य गरिएको छ। साथै, आयोजनाको काम सुरु हुनुअगावै निर्माण स्थलमा बजेट, जनश्रमदान र सम्पन्न हुने मितिसहितको सूचना पाटी राख्नुपर्नेछ।

नगद कारोबार अन्त्य: उपभोक्ता समिति, निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा कर्मचारीको पारिश्रमिक र सेवा शुल्कको भुक्तानी सोझै बैंक खातामा विद्युतीय माध्यम (EFT) बाट मात्र पठाइनेछ।

सार्वजनिक परीक्षणबिना भुक्तानी नहुने: आयोजना स्थलमा सार्वजनिक परीक्षण (पब्लिक अडिट) वा सार्वजनिक सुनुवाइ सम्पन्न गरी त्यसको माइन्युट पेस नगरेसम्म अन्तिम भुक्तानी रोकिनेछ। यसका साथै नगरपालिका अनुगमन समितिको प्रतिवेदन, प्राविधिक मूल्याङ्कन र सम्बन्धित वडाको सिफारिसलाई अन्तिम फरफारकको पूर्वसर्त बनाइएको छ।

प्रशासनिक खर्च घटाउन नगरपालिकाले सरकारी सभाहलको मात्र प्रयोग गर्ने, इन्धन, मर्मत, भ्रमण तथा अन्य फजुल खर्चमा व्यापक कटौती गर्ने नीति लिएको छ। कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व शाखा प्रमुख र आर्थिक प्रशासन शाखाको रायसहित कार्यालय प्रमुखबाट अनिवार्य प्रस्ताव स्वीकृत गराउनुपर्नेछ।

यस्तै, विगतका वर्षहरूमा देखिएका बेरुजु फछ्र्योटलाई उच्च प्राथमिकतामा राख्दै सशर्त, समपूरक र विशेष अनुदानका योजनाहरू समयमै सम्पन्न गरी खर्च हुन नसकेको रकम प्रचलित नियमअनुसार फिर्ता दाखिला गराउने नगरपालिकाले जनाएको छ।

सम्बन्धित डकुमेन्ट पढ्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार