कालीकोट असाेज १० गते । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको कर्णाली राजमार्गका केही खण्ड खुलाइए पनि मुख्य स्थानहरूमा अझै यातायात ठप्प रहेको छ।
सडक डिभिजन कार्यालय जुम्लाको पहलमा कालीकोट खण्ड अन्तर्गत राँचुली, भिग्म र खल्लागाड क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनयोग्य बनाइएको छ।
तर, लगातारको वर्षा र प्रतिकूल मौसमका कारण राजमार्गकै संवेदनशील मानिएका एसमोड र गगनेखोला खण्डको पहिरो भने हटाउन सकिएको छैन। ती स्थानहरूमा माथिबाट निरन्तर लेदो र ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको र सडक पूर्ण रूपमा अवरुद्ध रहेको सडक डिभिजनले जनाएको छ।
मौसममा सुधार आउनासाथ उपकरण र जनशक्ति परिचालन गरी बाँकी खण्डको अवरोध हटाउने कार्य अघि बढाइने कार्यालयले जानकारी दिएको छ। सडक पूर्ण रूपमा नखुल्दासम्म उक्त खण्डमा यात्रा गर्दा सतर्कता अपनाउन र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।