Loading

असोज ९ देखि ११ सम्म कालीकोटमा उच्च सतर्कता: रात्रिकालिन यात्रा रोक्न र डोजर तैनाथ राख्न प्रजिअको निर्देशन

असोज ९ देखि ११ सम्म कालीकोटमा उच्च सतर्कता: रात्रिकालिन यात्रा रोक्न र डोजर तैनाथ राख्न प्रजिअको निर्देशन

मान्म (कालीकोट), असोज ७ गते । असोज ९ देखि ११ गतेसम्म कर्णाली प्रदेशसहित देशभर भारी वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि कालीकोट जिल्ला प्रशासनले रणनीतिक कदम चालेको छ। प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईको अध्यक्षतामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रात्रिकालिन यात्रामा रोक लगाउने, जोखिमयुक्त बस्तीका नागरिकलाई स्थानान्तरण गर्ने र डोजरसहितका उद्धार टोली स्टेन्डबाई राख्ने निर्णय गरेको छ।

बैठकले कालीकोट-जुम्ला सडकखण्ड र कर्णाली करिडोर अन्तर्गतका गगनेखोला, जितेगडा, सेरिघाट, हुल्म, पिली, सुनारखोला, ताडी र मोल्फाजस्ता पहिरोग्रस्त क्षेत्रमा विशेष निगरानी बढाएको छ। जोखिमयुक्त सडकखण्डमा भारी वर्षाको अवधिभर रात्रिकालिन तथा अत्यावश्यक बाहेकका यातायात सञ्चालनमा रोक लगाइएको छ। साथै असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा नगर्न र यातायातका साधन नचलाउन व्यवसायीहरूलाई अनुरोध गरिएको छ।

सडक अवरुद्ध भए लगत्तै खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लामार्फत संवेदनशील बिन्दुहरूमा चालक र इन्धनसहितका डोजर तथा एक्साभेटर स्टेन्डबाई राखिने भएको छ। विपद्का वेला बिजुली र मोबाइल नेटवर्क अवरुद्ध हुन सक्ने यथार्थलाई मध्यनजर गर्दै गाउँबस्तीबाट वडासम्म खबर पुर्‍याउन प्रत्येक टोलमा स्थानीय युवा तथा स्वयंसेवकहरूलाई ‘सूचनादूत’का रूपमा तोक्ने व्यावहारिक रणनीति बनाइएको छ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले भौगोलिक विकटता र विगतको इतिहासलाई हेरेर सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको बताउनुभयो।

सम्बन्धित डकुमेन्ट पढ्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार