Loading

प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ, असोज ६ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे टोलीको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहको विदेश भ्रमणका क्रममा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा मन्त्रिपरिषद्का ज्येष्ठ सदस्य एवम् अर्थमन्त्री वाग्लेलाई कार्यवाहकको जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लाग्नुभएका प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। सम्बोधनका क्रममा उहाँले भोटेकोशीमा आएको विनाशकारी बाढीको प्रसङ्ग उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको गम्भीर असर र नोक्सानीका विषयमा विश्व समुदायको ध्यान आकर्षित गराउनुहुनेछ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली असोज ४ गते नै न्युयोर्क पुगिसकेको छ। उच्चस्तरीय सत्र तथा विभिन्न द्विपक्षीय भेटवार्तामा सहभागी भई प्रधानमन्त्री शाह यही असोज १० गते (सेप्टेम्बर २६) स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार