मान्म (कालीकोट), असोज ५ गते । जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले सर्वसाधारणलाई विशेष सजगता र सतर्कता अपनाउन अपिल गरेको छ। प्रशासनले असोज ५ गते एक सूचना जारी गर्दै आगामी असोज ८ गतेदेखि १२ गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेकाले विपद्बाट जोगिन सतर्क रहन अनुरोध गरेको हो।
सूचना अनुसार उक्त अवधिमा लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा जलस्तर बढेर आकस्मिक बाढी आउने, भिरालो जमिनमा पहिरो जाने र होचा भू-भागहरू जलमग्न भई डुबान हुन सक्ने उच्च जोखिम रहेको छ। सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि नदी तटीय क्षेत्र, गेग्रान बहाव क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न र उच्च सजगता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी, पहिरो र सडक अवरोधका कारण यातायात सेवा समेत प्रभावित हुन सक्ने भएकाले यस अवधिमा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नै परेमा पहिरो तथा सडकको अवस्था बुझेर मात्र निस्कन प्रशासनले अनुरोध गरेको छ।
भारी वर्षा र विपद्को समयमा कुनै पनि आपत्कालीन अवस्था सिर्जना भएमा वा उद्धारको आवश्यकता परेमा तुरुन्त जिल्ला प्रशासन कार्यालय वा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न भनिएको छ।
