मान्म (कालीकोट), असोज २ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसर पारेर कालीकोट सदरमुकाम मान्ममा बृहत् सरसफाइ कार्यक्रमका साथै बिरामी, कैदीबन्दी र बालबालिकाहरूलाई फलफूल तथा खेलकुद सामग्री वितरण गरिएको छ।
संविधान दिवस मूल आयोजक समितिको निर्णयअनुसार असोज ३ गतेको मुख्य समारोहअघि आज बिहानैदेखि मान्म बजार क्षेत्रमा विशेष सरसफाइ अभियान चलाइएको हो। बजारलाई स्वच्छ, सुन्दर र अनुशासित बनाउने उद्देश्यले सञ्चालित अभियानमा स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, राष्ट्रिय सेवक कर्मचारी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो।
सरसफाइ कार्यक्रमका क्रममा बोल्दै जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीले संविधान दिवसलाई केवल औपचारिक कार्यक्रममा मात्र सीमित नराखेर जनताको दैनिक जीवनसँग जोड्न सरसफाइ र सामाजिक कार्य आयोजना गरिएको बताउनुभयो। “संविधानले दिएको नागरिक अधिकारसँगै आफ्नो गाउँ-ठाउँ र बजार सफा राख्नु हामी सबैको कर्तव्य हो,” प्रमुख शाहीले भन्नुभयो, “मान्म बजारलाई पर्यटकीय तथा सुन्दर सहरका रूपमा विकास गर्न यस्ता सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्छ।”
यसैगरी, सोही अवसरमा स्वास्थ्य सेवा कार्यालय कालीकोटमा उपचाररत बिरामीहरू, जिल्ला कारागारका कैदीबन्दीहरू तथा स्थानीय ‘न्यानो काख’का बालबालिकाहरूलाई फलफूल र खेलकुदका सामग्रीहरू वितरण गरिएको छ।
फलफूल तथा खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले दिवसका अवसरमा अस्पतालका बिरामी र कारागारका कैदीबन्दीहरूप्रति आत्मीयता दर्शाउन यो कार्यक्रम गरिएको बताउनुभयो। “संविधानले प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र स्वास्थ्यको हक सुनिश्चित गरेको छ,” प्रजिअ भट्टराईले थप्नुभयो, “अस्पतालमा रहेका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र कारागारमा रहेका नागरिकहरूमा पनि सकारात्मक सोचको विकास होस् भन्ने उद्देश्यले फलफूल र बालबालिकालाई खेलकुद सामग्री वितरण गरिएको हो।”
कार्यक्रममा सहभागी स्थानीय व्यवसायी तथा जनप्रतिनिधिहरूले मान्म बजारको सरसफाइ र सामाजिक सहयोगका काममा सधैँ हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजकका तर्फबाट मान्म बजार सरसफाइमा स्वतःस्फूर्त रूपमा खटिने सम्पूर्ण नगरवासी, व्यवसायी तथा बिरामी एवम् कैदीबन्दीहरूलाई फलफूल र खेलकुद सामग्री वितरणमा समन्वय गर्ने स्वास्थ्य सेवा कार्यालय, कारागार प्रशासन र सम्बद्ध सबै निकायप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ।