काठमाडौँ, असोज २ गते । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गर्नुभएको छ।
बैठकले रिक्त रहेका १३ देशका लागि नयाँ नेपाली राजदूतहरूको नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संसद्मा पठाउने निर्णय गरेको छ। सिफारिस हुनेहरूमा डा. निश्चलनाथ पाण्डे (भारत), डा. कल्याणराज शर्मा (चीन), चिरनजंग थापा (संयुक्त राज्य अमेरिका) र पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (संयुक्त अधिराज्य – यूके) रहनुभएको छ।
त्यसैगरी जिज्ञान कुमार थापा (जापान), सुरेशकुमार कर्ण (इजरायल), प्राप्ति शेरचन (स्पेन), शरू जोशी (जर्मनी), डा. पद्माक्षी राणा (ओमान), चूडामणि खरेल (मलेसिया), प्रा. डा. सङ्गम श्रेष्ठ (दक्षिण कोरिया), डा. मंचला झा (श्रीलंका) र गिरीबहादुर सुनार (साउदी अरेबिया) राजदूत पदका लागि सिफारिस हुनुभएको छ।
बैठकले प्रशासनिक तथा नीतिगत सुधारका क्षेत्रमा समेत महत्त्वपूर्ण निर्णयहरू गरेको छ:
विद्युत् प्राधिकरणमा नयाँ नेतृत्व: नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।
नियमावली स्वीकृत: ‘नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३’ स्वीकृत गरिएको छ।
कार्यविभाजन संशोधन: साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विभागलाई अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत राख्ने गरी ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ संशोधन गरिएको छ।
सचिवमा बढुवा: सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।