कालीकोट भाद्र ३१ गते । जिल्ला प्रशासन कार्यालय कालीकोटले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ भव्यताका साथ मनाउन जिल्लास्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईद्वारा हस्ताक्षरित सूचना जारी गर्दै उत्सव मनाउने कार्यतालिका समेत सार्वजनिक गरिएको छ।
प्रशासनले असोज २ र ३ गते दुई दिन सरकारी तथा गैरसरकारी कार्यालयहरूमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउन र साँझ दीप प्रज्ज्वल अनिवार्य रूपमा गर्न/गराउन निर्देशन दिएको छ।
कार्यक्रमको पहिलो दिन असोज २ गते बिहान ७:०० बजे जिल्ला प्रशासन कार्यालय अगाडिको चोकमा भेला भई बजार सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी मुख्य दिन असोज ३ गते बिहान ठिक ८:०० बजे सोही स्थानबाट प्रभातफेरी कार्यक्रम आयोजना हुनेछ।
प्रभातफेरी तथा औपचारिक समारोहमा निर्धारित पोशाकमा उपस्थित हुन कार्यालय प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य गरिएको छ। राष्ट्रको मूल उत्सव भएकाले सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई अनुशासित र उत्साहजनक रूपमा सहभागी हुन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
