कालीकोट भाद्र २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। संसदीय समितिमा ग्यास उद्योगीहरूका विरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण चौतर्फी विरोध भएपछि उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
मन्त्री यादवका सञ्चार संयोजक कमल चौलागाईंका अनुसार बुधबार बिहान बसेको उद्योग समितिको बैठकमा मन्त्री यादवले ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ र हाल सञ्चालनमा रहेका सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुई वटा मात्र राख्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्।
उनले बजारमा देखिएको ग्यास अभाव उद्योगीहरूकै कारण भएको आरोप लगाउँदै कडा कदम चाल्नुपर्ने बताएकी थिइन्। मन्त्रीको यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उद्योगीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
यतिबेला काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार छ। नेपाल आयल निगम र उद्योग मन्त्रालयले ग्यास आपूर्ति भइरहेको तथ्याङ्क सार्वजनिक गरे पनि बजारको वास्तविक अवस्था भने निकै कष्टकर छ। उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि दिनरात लाइनमा बस्न बाध्य छन् भने २ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्न बाध्य पारिएका छन्।