Loading

कालीकोटको रुप्सादेखि विश्वचर्चित ‘टेस्ला’सम्म: दिनेशको संघर्षले दिलाएको सफलता

कालीकोटको रुप्सादेखि विश्वचर्चित ‘टेस्ला’सम्म: दिनेशको संघर्षले दिलाएको सफलता

कालीकोट भाद्र २५ गते । दृढ संकल्प, निरन्तरको संघर्ष र मेहनत भए भूगोलको विकटताले सपना रोक्न सक्दैन भन्ने गतिलो प्रमाण बनेका छन् कालीकोटका दिनेश बोगटी। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५, रुप्साको विकट गाउँमा जन्मिएर अभाव र संघर्षका अनेकौँ घुम्तीहरू पार गर्दै उनी आज विश्वविख्यात विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘टेस्ला’ (Tesla) मा एक दशक लामो गौरवमय यात्रा पूरा गर्न सफल भएका छन्।

हाल संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित ‘टेस्ला गिगा टेक्सास’ (Tesla Giga Texas) मा कार्यरत बोगटी टेस्लाको विश्वचर्चित भविष्य-उन्मुख परियोजना ‘साइबरक्याब’ (Cybercab) मा प्रोडक्सन म्यानेजर (Production Manager) को रूपमा उच्च नेतृत्वदायी जिम्मेवारी सम्हालिरहेका छन्।

टेस्लामा १० वर्ष पूरा भएको अवसरमा आफ्नो अनुभूति सार्वजनिक गर्दै उनले यस यात्रालाई आफ्नो जीवन र करियरको एउटा अविस्मरणीय कोशेढुङ्गाको रूपमा व्याख्या गरेका छन्।

एक दशकअघि टेस्लामा सामान्य रूपमा पाइला टेक्दा यति ठूलो फड्को मार्न सकिएला भन्ने उनले सोचेका समेत थिएनन्।टेस्लाका प्रारम्भिक मोडलहरू Model S र Model X तथा Model 3 को उत्पादन प्रक्रियाबाट सुरु भएको उनको प्राविधिक अनुभव पछिल्ला वर्षहरूमा Structural Battery हुँदै विश्वभर सनसनी मच्चाएको Cybertruck सम्म पुग्यो। अहिले भने उनी विश्वकै ध्यान खिचेको पूर्ण स्वचालित चालकविहीन ट्याक्सी Cybercab परियोजनाको उत्पादन व्यवस्थापन प्रत्यक्ष हाँकिरहेका छन्।

आफ्नो यो ऐतिहासिक सफलताको श्रेय सहकर्मी, अग्रज र टिमलाई दिँदै बोगटीले सामाजिक सञ्जालमा लेखेका छन्- “यी १० वर्षको यात्रामा साथ दिने हरेक सहकर्मी, मार्गदर्शक र साथीहरूलाई हृदयदेखि धन्यवाद। लामो कार्यघण्टा, कठिन चुनौतीहरू, सफलताहरू र ती सबैबाट सिकेका पाठहरू एउटा उत्कृष्ट टिमबिना सम्भव थिएन।”

उत्पादन व्यवस्थापकका रूपमा नेतृत्वको मर्म खोतल्दै उनी भन्छन्-“नेतृत्व भनेको कुनै एक व्यक्तिको कुरा होइन। नेतृत्व भनेको यस्तो टिम निर्माण गर्नु हो, जसले लक्ष्यमा विश्वास गरोस्, जिम्मेवारी लेओस्, एकअर्कालाई काँध थापोस् र ‘यति भए पुग्यो’ भन्ने सोचमा कहिल्यै नरोकियोस्।”

कुनै समय आधारभूत अवसरहरूका लागि पनि संघर्ष गर्नुपर्ने कर्णालीको दुर्गम रुप्सा गाउँबाट उठेर विश्व प्रविधिको शीर्षस्थानमा नेपाली पहिचान स्थापित गराउनु समग्र देशकै लागि गौरवको विषय हो। बोगटीको यो सफलताले स्रोत-साधनको अभावमा रहेका कर्णाली र देशभरका हजारौँ युवाहरूलाई सपना देख्न र त्यसका लागि निरन्तर लड्न ठूलो ऊर्जा थपेको छ।

कालीकोटका उकाली-ओरालीमा हिँड्दै देखेका सपनाहरू आज विश्वकै अत्याधुनिक प्रविधि कारखाना ‘टेस्ला गिगा टेक्सास’मा पुगेर साकार भएका छन्। अभाव र विकटता भाग्य होइन, केवल एउटा परिस्थिति मात्र हो- यदि मनमा आँट, कर्ममा निष्ठा र निरन्तरको लगाव छ भने संसारको कुनै पनि भूगोलले सपनाको उचाइलाई छेक्न सक्दैन भन्ने बलियो सन्देश दिनेशको यो यात्राले दिएको छ। १० वर्षे यात्रा पूरा गरेर पनि ‘सबैभन्दा राम्रो समय आउन अझै बाँकी नै छ’ भन्ने उनको आत्मविश्वासले कर्णालीका भीर-पाखामा पसिना बगाइरहेका हरेक युवालाई आफ्नै पाखुरामाथि भरोसा गर्न र ठूलो सपना देख्न घच्घच्याइरहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार