Loading

महाबै गाउँपालिकाद्वारा तिला माविलाई विज्ञान ल्याब र पुस्तकालय हस्तान्तरण: ‘व्यावहारिक शिक्षामा जोड’

महाबै गाउँपालिकाद्वारा तिला माविलाई विज्ञान ल्याब र पुस्तकालय हस्तान्तरण: ‘व्यावहारिक शिक्षामा जोड’

कालीकोट भाद्र २४ गते । महाबै गाउँपालिकाले पालिकाभित्र रहेको तिला माध्यमिक विद्यालय गैराखाडालाई प्रविधिमैत्री विज्ञान प्रयोगशाला (ल्याब) तथा आधुनिक पुस्तकालय निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ। विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यासमा बदल्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाको लगानीमा सो पूर्वाधार तयार गरी विद्यालयलाई बुझाइएको हो।

हस्तान्तरण कार्यक्रममा बोल्दै महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। “किताबी ज्ञानमा मात्र सीमित नभएर हाम्रा बालबालिकाले प्रयोगात्मक र आधुनिक शिक्षा पाउनुपर्छ भन्ने हाम्रो सङ्कल्प हो,” अध्यक्ष सिंहले भन्नुभयो, “साइन्स ल्याब र पुस्तकालयको स्थापनाले ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा खोज तथा अनुसन्धानमूलक सिकाइ अभिवृद्धि गर्न ठूलो सहयोग पुग्नेछ।” उहाँले आगामी दिनमा पनि पालिकाका अन्य विद्यालयहरूलाई क्रमशः प्रविधि र भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाको तर्फबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै तिला माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले हस्तान्तरण गरिएका सामग्रीहरूको सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हाम्रा विद्यार्थीहरूको प्रत्यक्ष सिकाइलाई प्रयोगात्मक ढङ्गले निरन्तरता दिन यो पूर्वाधारको उचित र अधिकतम प्रयोग गर्नेछौँ,” प्रधानाध्यापक शाहीले भन्नुभयो, “विद्यालयलाई प्राथमिकतामा राखेर विज्ञान ल्याब र पुस्तकालय हस्तान्तरण गर्नुभएकोमा गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, प्रमुख शिक्षा अधिकृत मदनबहादुर शाही, शिक्षा अधिकृत अग्निप्रसाद अधिकारी, वडा नं. २ का वडाध्यक्ष हर्कबहादुर सिंहलगायत सम्पूर्ण गाउँपालिका सरकारप्रति विद्यालय परिवार हार्दिक धन्यवाद प्रकट गर्दछ।”

साथै, प्रधानाध्यापक शाहीले पुस्तकालय र प्रयोगशाला व्यवस्थापनका लागि अहरात्र खटिने विद्यालयका सम्पूर्ण शिक्षक तथा शिक्षिका (सर/म्याम) हरूलाई पनि विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षा शाखाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। गाउँपालिकाको यो सहयोगले विद्यालयको शैक्षिक वातावरणमा नयाँ आयाम थपेको र विद्यार्थीहरूमा अध्ययनप्रति थप रुचि जाग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार