Loading

कालीकोटमा शिक्षकहरूका लागि पाँच दिने क्षमता विकास तालिम सम्पन्न: प्रारम्भिक तहको सिकाइ रूपान्तरणमा जोड

कालीकोटमा शिक्षकहरूका लागि पाँच दिने क्षमता विकास तालिम सम्पन्न: प्रारम्भिक तहको सिकाइ रूपान्तरणमा जोड

कालीकोट, भाद्र २३ गते। आधारभूत तहका बालबालिकाको सिकाइलाई प्रभावकारी, समतामूलक र बालमैत्री बनाउने उद्देश्यका साथ शिक्षकहरूका लागि आयोजित पाँच दिने सघन क्षमता विकास तालिम आज सम्पन्न भएको छ

‘बालबालिकाहरूका लागि समावेशी, सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच लक्षित’ (सुधार परियोजना) अन्तर्गत आयोजित उक्त तालिमको समन्वय नरहरिनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाले गरेका थिए भने प्लान इन्टरनेसनल नेपाल र किर्डाक नेपालको साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो

भदौ १९ देखि २३ गतेसम्म मान्ममा सञ्चालित ‘लैङ्गिक रूपान्तरणमुखी शिक्षण विधि, समावेशी कक्षाकोठा व्यवस्थापन र विश्वव्यापी सिकाइ ढाँचा (UDL)’ सम्बन्धी तालिममा नरहरिनाथ गाउँपालिकाका ६ विद्यालयका १२ जना र सान्नीत्रिवेणी गाउँपालिकाका ६ विद्यालयका १२ जना गरी कुल २४ जना आधारभूत तह (बालविकासदेखि कक्षा ३ सम्म) का शिक्षक-शिक्षिकाको सहभागिता रहेको थियो

तालिममा सहजकर्ता हिरामणी सिम्खाडाले लैङ्गिक उत्तरदायी शिक्षण, समावेशी कक्षाकोठा, बालबालिकामा देखिने सिकाइ सीमितताहरूको पहिचान तथा विश्वव्यापी सिकाइ ढाँचाका व्यावहारिक प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले भन्नुभयो, “शिक्षकसँग शिक्षा र समाजका धेरै पक्षहरू प्रत्यक्ष जोडिएका हुन्छन्। सिकाइ रूपान्तरणको नतिजा आउन केही ढिलो हुन सक्छ, तर शिक्षकले कक्षाकोठाभित्र निरन्तर मिहिनेत र धैर्यता देखाउनुपर्छ।”

कार्यक्रममा आफ्नो धारणा राख्दै किर्डाक नेपालका सिनियर परियोजना स‌ंयाेजक बलिराज शाहीले प्रारम्भिक बालविकास कक्षा शिक्षा नै बालबालिकाको भविष्य निर्माणको आधारशीला भएको औंल्याउनुभयो। उहाँले भन्नुभयो, “कक्षा १ देखि ३ सम्मका बालबालिकामा गरिने लगानी नै वास्तवमा उनीहरूको सुरक्षित भविष्य निर्माण गर्नु हो। तर हाम्रो अभ्यासमा माथिल्लो तहका ठूला कक्षाहरूमा मात्र लगानी र ध्यान केन्द्रित गरिँदा आधारभूत तह कमजोर भई उपलब्धिमूलक नतिजा आउन सकिरहेको छैन।”

तालिमले शिक्षण शैलीमा नयाँ दृष्टिकोण दिएको सहभागी शिक्षकहरूले बताएका छन्। जनज्योति माध्यमिक विद्यालय तिकुवा (वडा नं. ४) का शिक्षक दिलबहादुर बोहराले तालिम निकै लाभदायक भएको प्रतिक्रिया दिँदै भन्नुभयो, “यस तालिमले हाम्रो शिक्षण कलामा थप निखार ल्याएको छ। यस्ता व्यावहारिक कार्यक्रमहरू अझै आवश्यक छन् र तालिममा तयार पारिएको कार्ययोजनालाई हामी विद्यालयमा कडाइका साथ लागू गर्नेछौँ।”

यस्तै, बढरुख आधारभूत विद्यालय, सान्नीत्रिवेणी–६ मेहलमुडीकी शिक्षिका यशोदा सार्की र पञ्चदेवल माध्यमिक विद्यालय मेहलमुडीकी शिक्षिका शान्तिदेवी शाहले तालिम अवधिभर सिकेका लैङ्गिक रूपान्तरणमुखी विधि र बालमैत्री अभ्यासहरू विद्यालयमा पुगेर बालबालिकामाझ पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।

नरहरिनाथ गाउँपालिका–२ स्थित चौँथीकोट आधारभूत विद्यालयका शिक्षक जनके दमाईले ५ दिने प्रशिक्षणले कक्षाकोठाभित्रका विविधता बुझ्न ठूलो मद्दत पुर्‍याएको बताउँदै भन्नुभयो, “पाँच दिनको यो तालिमले हामीलाई धेरै नयाँ ज्ञान र सीप सिकायो। अब हामीले तालिम हलबाट लगेको यो सीप र दक्षता विद्यालयको कक्षाकोठामा व्यवहारमै उतारेर देखाउने बेला आएको छ।”

समापनका क्रममा सहभागीहरूले तयार पारेको सूक्ष्म शिक्षण (Micro-teaching) र कार्ययोजनाअनुसार आफ्ना विद्यालयमा समावेशी तथा सुरक्षित सिकाइ वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार